Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विज्ञान संकायमा 'नेपाल टप' गरी एमबीबीएसमा नाम निकालेका राज नारायणलाई कान्तिपुर कलेजद्वारा १ लाखसहित सम्मान

उद्‌घोष संवाददाता
६ मंसिर २०८२, शनिवार

विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर कलेजले पहिलो प्रयासमै एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी राज नारायण महतोलाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मानित गरेको छ ।

विद्यालयले शुक्रबार आयोजित विशेष कार्यक्रममा महतोसहित विभिन्न परीक्षामा उत्कृष्ट नतिजा ल्याएका ३१ जना विद्यार्थीलाई सम्मानित गरेको हो ।

कलेजले महतोसहित एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल करुणा कुमारी साह र प्रिन्सन श्रेष्ठलाई सम्मान गरेको जनाएको छ ।

सिरहाको मिर्चैया घर भएका महतोले प्रवेश परीक्षामा ३९ औँ स्थान तथा ब्याचलर इन डेन्टल साइन्स (बीडिएस) तर्फ नेपालमै दोस्रो स्थानमा नाम निकाल्न सफल भएको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए ।

महतोले कक्षा १२ को बोर्ड परीक्षामा समेत विज्ञान संकायमा ३ दशमलव ९६ प्रतिशत जीपीए सहित नेपाल प्रथम भएको प्रिन्सिपल नेपालले जानकारी दिए ।

उनीलाई कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष खुसीराज श्रेष्ठ, प्रिन्सिपल भुवन नेपाल, विज्ञान संकाय कोअर्डिनेटर हिमालय बराल लगायतले सम्मानपत्र प्रदान गरेका हुन् ।

सामान्य परिवारका महतो तीन दाजुभाइमध्ये माइला हुन् । कान्तिपुर कलेजमै पढेका उनका दाजुले समेत एमबीबीएस परीक्षामा उत्कृष्ट अंकसहित छात्रवृत्तिमा नाम निकालेका थिए भने भाइ राहुल महतो समेत अहिले कक्षा ११ मा कान्तिपुर कलेजमै अध्ययनरत रहेको जनाइएको छ ।

महतोले कलेजको अध्ययन वातावरण र शिक्षकवर्गको सहयोगका कारण आफूले सफलता हासिल गरेको बताए ।

कलेजले कक्षा ११ को विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायतर्फ सर्वोत्कृष्ट नतिजा हासिल गर्ने तथा कक्षा ११ को पहिलो त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने ३१ जना विद्यार्थीहरूलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेको छ । उनीहरूलाई कलेजले २१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको प्रिन्सिपल नेपालले बताए ।

कलेजको कक्षा ११ को विज्ञान संकायतर्फ वार्षिक बोर्ड परीक्षामा कलेज प्रथम भएकी प्रियङ्का चौधरी, द्वितीय अविशा लिम्बु, तृतीय समृद्धि अधिकारी र सुजल अधिकारीलाई संकाय कोअर्डिनेटर हिमालय बरालले पुरस्कार र सम्मानपत्र प्रदान गरेका छन् ।

व्यवस्थापन संकायतर्फ प्रथम हुने नितिश कुमार मण्डल, द्वितीय रूची साह र तृतीय हुने जोशिका कार्की र योगेश मगरलाई कोअर्डिनेटर राशन राजवंशीले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।

होटल व्यवस्थापन संकायमा प्रथम हुने करुण ढुंगाना, द्वितीय हुने दिपेश लुइँटेल, तृतीय हुने कौशल पौडेल र प्रज्वल मंग्रान्तीलाई संकाय कोअर्डिनेटर धिजन बाबु काफ्लेले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष श्रेष्ठले वर्ष २०८२ कलेजका लागि विशेष उपलब्धिमूलक रहेको बताए । त्यसको श्रेय भने विद्यार्थीहरूलाई जाने बताए । उनले पढाइमा थप मेहनत जारी राख्न विद्यार्थीहरूलाई आग्रह गरे ।

सोही अवसरमा कलेजमा १० वर्ष सेवा गरेर बिदाइ भएकी कार्यालय सहयोगी विराटनगर–१२ की सीता कार्कीलाई नगद १५ हजार रुपैयाँसहित बिदाइ गरिएको छ ।

कान्तिपुर एजुकेशन फाउण्डेशनअन्तर्गत नर्सरीदेखि कक्षा १० सम्म ८००, कक्षा ११ मा १०६४ र कक्षा १२ मा ९७३ जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । यसै वर्ष मात्र कान्तिपुरकी आयुषा कार्कीले एसईईमा जीपीए–४ हासिल गरेकी थिइन् । उनी अहिले कक्षा ११ मा कान्तिपुरमै अध्ययनरत रहेकी छन् ।

कान्तिपुरले कुल ३१२ जना विद्यार्थीलाई छात्रवृत्तिमा पठन–पाठन गराउँदै आएको छ । विराटनगर महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमसहित एक सय जना खेलाडी, विभिन्न परीक्षामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरू र द्वन्द्वपीडित परिवारका विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययनरत रहेका छन् ।

विद्यार्थीहरूले विज्ञान संकाय बाहेक इन्जिनियरिङ तर्फ समेत हरेक वर्ष उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको जनाइएको छ ।

View : 164

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved