विराटनगर । नारागणगढ–मुग्लिन सडकको सिमतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बसका सवार यात्रीहरूको निधनमा विराटनगरमा श्रद्धाञ्जली सभा गरिएको छ ।
नेपाल सोनार समाज फाउण्डेशन विराटनगरले नगरक्षेत्रको मेनरोडमा रहेको पञ्चमुखी हनुमान मंदिर चौक नजिकैको ‘बी’ प्लटमा श्रद्धाञ्जलीसभा गरेको हो । उक्त ठाउँमा भेला भएका समाजका पदाधिकारीसहित स्थानीयले सो दुर्घटनामा निधन भएका यात्री तथा बसका चालक दलका सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
सो क्रममा मैनबत्ती बालेर तथा मौन धारण गरेर मृतकहरूको आत्माको चिरशान्तिको कामना गरिएको नेपाल सोनार समाज फाउण्डेशनका अध्यक्ष महेश स्वर्णकारले जानकारी दिए । उनले उक्त अकल्पनीय दुर्घटनाका कारण त्रिशूलीमा वेपत्ता भएका अन्य यात्रीसहित बसको खोजीमा सरकारले थप तदारूकता दिनुपर्ने माग गरे ।
कार्यक्रममा बृहत मधेशी नागरिक समाजसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट रौतहटको गौरतर्फ आइरहेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।
बसमा सवार ६५ जनामध्ये तीनजना पौडिएर बाच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएको बताइएको छ ।
वेपत्तामध्ये हालसम्म दुई दर्जन बढीको शव विभिन्न क्षेत्रमा फेला पारिएको भएपनि बस र थप यात्री अझै भेटिएका छैनन् । हाल भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोलीले सो दुर्घटनामा बेपत्ता बस र यात्रुहरूको खोजी गरिरहेको छ ।
View : 146
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved