विराटनगर । विराटनगर–१० स्थित नेशनल एकेडेमीले कक्षा ११ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मानित गरेको छ ।
बिहीबार कलेजले आयोजना गरेको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण तथा स्वागत कार्यक्रमको अवसरमा ११ कक्षाबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानित गरिएको हो ।
वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी र कलेजका प्रिन्सिपल सकलदेव साहले विद्यार्थीहरूलाई सम्मानित गरेका हुन् ।
कलेजका अनुसार कलेज प्रथम हुने राधा थापा, विज्ञान संकायमा प्रथम भएकी अञ्जली साह, द्वितीय हुने बालकृष्ण साह, व्यवस्थापन संकायमा प्रथम हुने किरण कामत, द्वितीय हुने अमित कुमार साह र शिक्षा संकायमा प्रथम हुने नन्दी कहार र द्वितीय हुने अर्जुन कुमार पण्डितलाई सम्मानित गरिएको हो ।
उक्त अवसरमा कलेजमा यस वर्ष कक्षा ११ मा भर्ना भएका १८१ जना विद्यार्थीहरूलाई स्वागत समेत गरिएको थियो ।
कलेजका प्रिन्सिपल साहका अनुसार विज्ञान संकायमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको जानकारी दिए । उनले अभिभावकहरू समेत आर्थिक रूपमा भार नपर्ने गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
‘विज्ञान संकायको पढाइ भिडमा हुँदैन, हामीले उचित संख्यामा विद्यार्थीहरू अध्ययन गराइरहेका छौं र नतिजा पनि उत्कृष्ट हासिल गर्दै आएका छौं’ प्रिन्सिपल साहले भने, ‘सस्तो, सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं, अभिभावकलाई आर्थिक भार पर्न नदिने नीति लिएका छौं, ठूलो घर देखाएर विद्यार्थी तान्नेभन्दा सानो घरबाटै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने सोचका साथ अघि बढेका छौं ।’
नेशनल कलेजबाट हरेक वर्ष विज्ञान संकायमा ८० प्रतिशत र व्यवस्थापनमा ७० प्रतिशत विद्यार्थीले उत्कृष्ट अंकका साथ उत्तीर्ण हुँदै आएको दाबी गरे ।
उक्त कार्यक्रममा शिक्षकहरू सुरेन साहु, हरिनारायण यादव र सञ्जय देवले नेशनल कलेजको शैक्षिक सक्रियताबारे चर्चा गर्दै कलेजले ३१ औं ब्याचमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पढाइमा ध्यान दिएर भविष्यको असल नागरिक बन्ने बाटोमा लाग्न आग्रह गरेका थिए ।
कलेजमा विज्ञान, व्यवस्थापन, शिक्षा र होटल म्यानेजमेन्ट अध्यापन हुँदै आएको जनाइएको छ । साथै माध्यमिक शिक्षातर्फ हाल ३७५ जना विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत, संगीत र नृत्य प्रस्तुत गर्दै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
View : 406
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved