Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

झी पुचः ले दिने दुई लाखको पुरस्कार नेवा खलः कास्कीलाई

उद्‌घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । झी पुचः नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरले नेपाल भाषा र संस्कृतिको संरक्षणमा योगदान दिए बापत नेवा खलः कास्कीलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार दिने भएको छ ।

नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं जगेर्नामा लामो समयदेखि योगदान दिएको जनाउँदै झी पुचःले यस वर्षको सुर्दशन–कपिला सिरपा पुरस्कार प्रदान गर्ने भएको हो । आगामी चैत २ गते विराटनगरमा हुने समारोहमा २ लाखको पुरस्कार र ५० हजार रुपैयाँको लागतमा बनाइएको ताम्रपत्र प्रदान गरिने झी पुचःका अध्यक्ष भविश श्रेष्ठले बताए ।

पुरस्कार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सोमबार अध्यक्ष श्रेष्ठले यसअघि सो पुरस्कार भारतको सिक्किम नेवा गुठी र भाषा संस्कृतिविद वाङ्मयका सताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको जानकारी दिए । सिक्किम नेवा गुठीले २५ वर्ष भन्दा अघिदेखि भाषा संरक्षणमा योगदान दिंदै आएको छ ।

विराटनगर १० निवासी समाजसेवी तथा झी पुचः का संरक्षक सुदर्शनबहादुर श्रेष्ठले १५ लाख र दाताहरुबाट प्राप्त ५ लाख गरी २० लाख रुपैयाँको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरेका हुन् ।

श्रेष्ठले आफू र आफ्नी श्रीमतीको नाममा स्थापना गरेको पुरस्कार प्रत्येक दुई वर्षमा बितरण गरिन्छ । हरेक १० वर्षमा पुरस्कारको राशीमा ५० हजार रुपैंयाँका दरले बृद्धि गरिंदै लैजाने झी पुचःले जनाएको छ ।

नेपालमा भाषा र संस्कृति संरक्षणमा प्रदान गरिने यति ठुलो राशीको पुरस्कार यो नै पहिलो भएको अध्यक्ष श्रेष्ठले बताए । नेपाल भाषा संस्कार र संस्कृतिको संरक्षणमा योगदान दिनेलाई पुरस्कृत गर्न आफैं कार्यक्रम सञ्चालन सम्भव नभएको र दिगो नहुने भएकाले झी पुचः लाई जिम्मा दिइएको संरक्षक श्रेष्ठको भनाइ छ । 

झी पुचः का सञ्चालक वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठका अनुसार २०३८ सालमा स्थापना भएको झी पुचःले हरेक वर्ष नेपाल सम्वतको नयाँ वर्ष, बेल विवाह, ब्रतबन्ध, गाईजाक्रा लगायतका संस्कृतिक कार्यत्रमहरु गर्दै आएको छ ।

नेपाल भाषा, साहित्य, कला, भोज, बाजा, नृत्य, रिति रिवाज, भेषभूषा तथा संस्कृति समेतको संरक्षण गर्न औपचारिक कार्यक्रमहरु गर्दै आएको झी पुचः ले विराटनगरमा नेवा संग्रहालय निर्माण गर्दैछ । 

त्यसका लागि भवन निर्माणको काम भैरहेको छ । झी पुचः मा काठमाडौंपछिको ठूलो आठ फिट उचाईको इष्टदेव भैरवको मूर्ति निर्माण गरेको महासचिव सुभाष अमात्यले जानकारी दिए ।

नेपाल भाषालाई प्रदेशभरी फैल्याउने उद्देश्यले झी पुचःले आगामी १५ गते विराटनगरमा प्रदेशस्तरीय नेवा महोत्सव र गोष्ठी गर्दैछ । महोत्सवमा कला, संस्कार, परिकार झल्कने झाँकीहरु प्रदर्शन गरिने बताइएको छ ।

View : 380

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved