Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

उद्‌घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

काठमाडौँ, १२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराए ।

प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । 

प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ । 

हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ ।

स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरिएको छ । 

प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्तिन सक्ने पानीजन्य रोगहरू पखाला, हैजा तथा कीटजन्य रोगहरू डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ । 

मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । रासस

View : 98

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved