Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

हर्क साम्पाङको उक्साहटमा ग्याबिन पर्खाल भत्काएपछि धरानका नगर प्रहरीका असई पक्राउ

उद्घोष सम्वाददाता
२७ साउन २०८१, आइतवार

ग्याबिन पर्खाल भत्काउँदै नगर प्रहरी लगायत । तस्वीर : उद्घोष

विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रहरीका असई सुरेश मग्राती पक्राउ परेका छन् । सुनसरी प्रहरीले मग्रातीलाई आइतबार बिहान घरैबाट नियन्त्रणमा लिएको हो ।

मग्रातीले मेयर हर्क साम्पाङको निर्देशन र उक्साहटमा धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएका थिए । कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको बजेटबाट स्थानीय टोल विकास संस्थाले खोलामा तारजालीमा ढुँगा भरेर पहिरो रोकथामको कार्य गरेको थियो । 

नगर प्रहरीका असई मग्रातीलाई धरान–१४ स्थित उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । उनलाई पक्राउ गर्न शुक्रबार नै प्रहरी पुगेपनि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले आफैं लिएर हाजिर गराउन आउने भन्दै अनुरोध गरेपछि प्रहरीले पर्खिएको थियो । तर उनलाई लिएर आउने कुनै लक्षण नदेखेपछि प्रहरीले नगर प्रहरी प्रमुख मग्रातीलाई पक्राउ पुर्जी जारी गरेरै पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका नगर प्रहरी असई मग्रातीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको जनाइएको छ । ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा प्रहरीले साउन २४ गते अरु तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा भारती राई, राजकुमार राई र दिलकुमार राई रहेका छन् । 

मेयर साम्पाङले पक्राउ पर्नुअघि भारती राईको गुनासोको आधारमा उक्त ग्याबिन भत्काउन नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई निर्देशन दिएका थिए । मेयरको निर्देशन बमोजिम नगर प्रहरीको टोली खहरेमा पुगेपनि स्थानीयको चर्को विरोधका कारण टोली फर्किएको थियो । तर मेयर साम्पाङले भने आफ्नो आदेश कार्यन्वयन नभएको भन्दै कोइरालालाई नगर प्रहरी प्रमुखबाटै हटाइदिएका छन् ।

त्यसपछि नगर प्रहरीका असई मग्रातीको नेतृत्वमा खटिएको टोलीले भारती राई लगायतको संलग्नतामा ग्याबिन पर्खाल भत्काएको प्रहरीले जनाएको छ । घटनापछि धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले सार्वजनिक सम्पत्ति क्षति पुर्‍याएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

तर मेयर साम्पाङले भने नेपाल प्रहरीका एसएसपी भीम दाहालको निजी जग्गा जोगाउन प्रदेशको बजेट ल्याएको र उपमहानगरपालिकासँग समन्वय नगरेको आरोप लगाएको छ । उनले खहरेको बिचमा जाली लगाएर बस्ती डुबाउन खोजेकोले भत्काउनु परेको दाबी गरेका छन् ।

View : 152

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved