Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु

उद्‌घोष सम्वाददाता
२५ भदौ २०८१, मङ्गलवार

त्रिवेणी, २५ भदौ । यहाँको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ ।

नगरपालिकामा भूकम्पबाट  बढी प्रभावित चारवटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति सुरु गरिएको हो । 

बेलायती राजदूतावास काठमाडाैँको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’ अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति सुरु गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ । 

प्रभावित क्षेत्रका वडा नं ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरेको आठबिसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् ।

तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् ।

निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् । 

छनोट भएका सबैले ४० दिन बराबरको दुई किस्तामा ३६ हजार प्राप्त गर्ने जनाइएको छ ।

कामका लागि नगद कार्यक्रम अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताए ।

शर्माका अनुसार छनोट भएका कामदारले प्राविधिकको सल्लाह अनुसार ४० दिन काम गर्नुपर्ने छ । 

प्रत्येक वडाबाट कामका लागि नगद कार्यक्रमको लागि तीन सय ९७, तालिमको लागि नगद कार्यक्रम अन्तर्गत ४० र निःशर्त नगद कार्यक्रममा ८८ जना छनोट गरिएको छ ।

जस अन्तर्गत चारवटा वडाका दुई हजार एक सय सर्वसाधारण लाभान्वित भएका छन् ।

सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत शनिबारबाट वडा नं ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नति सुरु भएको छ ।

यहाँ दुई दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति हुनेछ ।

बाँकी तीन वटा वडामा १५ किलोमिटर सडक स्तरोन्नति गरिने नगरपालिकाले जनाएको छ । 

भूकम्पबाट प्रभावित आठबिसकोट नगरपालिकामा सञ्चालित परियोजनाले गरिब तथा सहाराविहीनलाई लक्षित गरी कार्र्यक्रम सञ्चालन गरेकाले ग्रामीण सडक स्तरोन्नतिका साथै स्थानीयवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।  रासस

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved