Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भदौ २४ को विध्वंश भुलेर अघि बढ्ने प्रयासमा निजी क्षेत्र

भाटभटेनी सुपरस्टोरमा भएको आगजनी, विराटचोकमा रहेको होटल नेपालीरिका आगोमा दनदनी हुँदा विराटनगरकै होटल ह्यारिसन लुटपाट र तोडफोडको शिकार बन्यो ।  आँखैअघि एकैछिनमा मुलुकव्यापी रुपमा भएको त्यो विध्वंशले सरकार नै ढल्यो । राजनीतिक असन्तोषले उठेको आक्रोशको त्यो ज्वाला केवल राजनीतिक प्रभावमा सीमित रहेन ।
उद्‌घोष संवाददाता
१ असोज २०८२, बुधवार

विराटनगर । भदौ २४ को त्यो दिन विराटनगरसहित मुलुकभरका धेरैजसो सरकारी तथा निजी भवनहरु धुवाँको मुस्लोभित्र लपेटिए ।

जेनजी आन्दोलनका क्रममा जब स्वार्थ समूहहरु सक्रिय भए, हेर्दाहेर्दै विराटनगरका सरकारी तथा धेरै निजी संरचनाहरु आगजनीको शिकार बने । भाटभटेनी सुपरस्टोरमा भएको आगजनी, विराटचोकमा रहेको होटल नेपालीरिका आगोमा दनदनी हुँदा विराटनगरकै होटल ह्यारिसन लुटपाट र तोडफोडको शिकार बन्यो । 

आँखैअघि एकैछिनमा मुलुकव्यापी रुपमा भएको त्यो विध्वंशले सरकार नै ढल्यो । राजनीतिक असन्तोषले उठेको आक्रोशको त्यो ज्वाला केवल राजनीतिक प्रभावमा सीमित रहेन ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड सम्हालिरहेको निजी क्षेत्रलाई नराम्ररी हल्लाइराखेर त्यो क्षण बिदा भएको छ । 

‘४० वर्ष लामो करिअरमा त्यो दिनको जस्तो राज्यविहीन अवस्था कहिल्यै देखेको थिइन,’ विराटनगरका उद्योगी पवन सारडाले भने ‘ठूला–ठूला आन्दोलन, सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडकाल भोगेका हाम्रा लागि भदौ २४ अत्यासलाग्दो थियो ।’

नेपालको अर्थव्यवस्था मूलतः तीन खम्बे अर्थनीतिमा आधारित छ । सरकार, निजी क्षेत्र र सहकारी । सरकार र निजी क्षेत्र दुवै भदौ २४ मा सडकमा प्रकट भएको आक्रोशको शिकार बन्दा कोशी प्रदेशको निजी क्षेत्र अछुतो रहेन । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउत निजी क्षेत्र पछिल्लो पीडा भुलेर फेरि उठ्ने प्रणसहित जुटिसकेको बताउँछन् । 

‘हरेक राजनीतिक लडाइँको असर अर्थतन्त्रमा अनि त्यसको एउटा मुख्य स्टेकहोल्डर निजी क्षेत्रमा पर्दै आएको छ, यसपटक पनि नराम्रोसँग पर्यो’, अध्यक्ष राउतले भने ‘यसले निजी क्षेत्रको मनोबलमा निश्चय नै प्रहार गरेको छ । त्यसका वावजुद निजी क्षेत्रले धुलो टक्टक्याएर फेरि उठ्ने प्रण गरेको छ ।’

आन्दोलनमा व्यक्त आक्रोशको तारोबाट थिलथिलो बनेको निजी क्षेत्रले फेरि उठ्ने प्रण गरिरहँदा राज्यले केही निश्चित दायित्वहरु पूरा गर्नुपर्ने राउतको भनाइ छ । 

‘पहिलो कुरा अहिलेको अन्तरिम सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ,’ उनले भने ‘त्यसले स्थिरतातिर लैजान मद्दत गर्नेछ । सँगै स्थापित राजनीतिक शक्तिहरुसँग संवादमार्फत समयमा निर्वाचन गराउनतिर सरकारको ध्यान जानुपर्छ ।’ 

स्थापित दलहरुलाई बेवास्ता गरेर अघि बढ्दा मुलुक फेरि अस्थिरता र आन्दोलनतिरै अघि बढ्ने जोखिम औंल्याउँदै राउतले थपे ‘त्यसो भयो भने अर्थतन्त्र झनै कमजोरी बन्ने खतरा हुन्छ ।’

सरकारमा मन्त्रीको जिम्मेवारी पाएका अनुहार हेर्दा आशा गर्न सकिने ठाउँ देखिएको बताउँदै उनले नवनियुक्त मन्त्रीहरुलाई केही सुझाव पनि दिएका छन् । 

‘अहिलेको अवस्थामा सरकार र राष्ट्र बैंकले निजी क्षेत्रप्रति कस्तो दृष्टि राख्छ भन्ने महत्वपूर्ण कुरा छ,’ राउतले भने ‘निजी क्षेत्रको मनोबल उकास्ने गरी सरकार अघि बढोस् भन्ने हामी चाहन्छौं ।’ 

ऊर्जामन्त्री कुलमान घिसिङले बिजुलीको डेडिकेटेड लाइनको रकम उठाउने निर्णय लिएका छन् । अध्यक्ष राउत निजी क्षेत्रसँग समन्वय गरेर, समय दिएर र लाल आयोगको प्रतिवेदनको मर्म अनुसार सरकार अघि बढ्नुपर्ने बताउँछन् ।  

नेपालमै लगानी गरेर राज्यलाई कर तिरिरहेको अनि नागरिक तहमा रोजगारीको अवसर सिर्जना गरिरहेको  निजी क्षेत्र पछिल्लो घटनाले स्तब्ध बनेको उद्योगी पवन सारडाको भनाइ छ । 

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष तथा संविधानसभा सदस्य सारडा यसपटकको आन्दोलनमा जत्तिको क्षति यसअघि आफूले कहिल्यै नदेखेको बताउँछन् ।

लगातार भइरहेको राजनीतिक परिवर्तनहरुबीच पनि आशा नत्यागेको बताउने उनी एउटै विषयले चिन्तित छन् । 

‘मेरो पुस्ता त जसोतसो नेपालमै लगानी गरेर उद्योग स्थापनामा लाग्यौं तर विदेश पढेको नवयुवाले के भविष्य देखेर नेपालमा लगानी गर्ला ?’, सारडाले भने ‘मेरो चिन्ता नै यही हो, अब लगानी कसरी जुट्ला ? जहाँ सुरक्षा हुन्न, त्यहाँ लगानी भित्रन्न । हामी कतै त्यतै अघि बढेका हौं कि ?’ 

आवेगमा सरकारी तथा निजी सम्पत्तिमा आगो झोसेपछि त्यसले पश्चातापबाहेक केही नदिने बताउँदै सारडाले थपे ‘मुलुकलाई सुरक्षित र लगानीयोग्य बनाउने दायित्व पूरा गर्नुपर्छ । अन्यथा यस्तै अवस्था रहिरहे लगानीका स्रोतहरु भित्रिन कठिन छ । नयाँ पुस्ता आशावादी हुन गाह्रो छ ।’ 

उद्योगी सारडाले सरकारले निजी क्षेत्रको लगानी सुरक्षित हुने र निर्वाध रुपमा उद्योग व्यवसाय सञ्चालन हुने अवस्था स्थायी रुपमा प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

विराटनगरकै अर्का उद्योगी महेश जाजू भदौ २३ र २४ को घटनाबाट निजी क्षेत्र आहत बनेको बताउँछन् । तर, उनलाई लाग्छ, नेपाल छिट्टै उठेर हिंड्न पनि थालिसकेको छ । 

‘हामीकहाँ भएको विध्वंश सिंगो विश्वले देख्यो, अहिले त्यही खरानी आफैंले पन्छाएर हिड्न थालेको पनि विश्वले हेरिरहेको छ’ जाजूले भने ‘हामीले विगतका दुःखद् कुरा बिर्सेर अघि बढ्न सकिएन भने जीवन चल्दैन । त्यसैले अब त्यो दुःख बिर्सेर अघि बढ्नुपर्छ ।’ 

अब अघि बढ्ने लक्ष्य भने प्रष्ट गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले देश सुचारु भएपछि दुई दिनअघि केही भएको थिएन कि जस्तो लाग्ने अवस्था छ,’ उनले भने ‘अब यही गतिमा आर्थिक क्रान्तितिर मुलुक अघि बढ्नुपर्छ । राजनीतिक क्रान्ति बारम्बार भयो, यसपटक पनि भयो । अब सबैले भन्दै आएको आर्थिक क्रान्ति हुनैपर्छ । त्यसका लागि मुलुकले स्थिरता चाहेको छ ।’

स्थिरताका लागि निर्धारित मितिमा चुनाव सम्पन्न गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै जाजूले थपे ‘समयमै चुनाव भएर निर्वाचित सरकार आएपछि सबैकुरा ट्रयाकमा आउन थाल्छ । आज भारतको बिहारमा सबैभन्दा कम उद्योगहरु खुल्छन् किनभने, त्यहाँ शान्तिसुरक्षा बलियो नभएको भन्ने आम बुझाइ छ । 

हिजो उत्तर प्रदेशमा त्यही अवस्था थियो, त्यहाँ अहिले उद्योगधन्दा थपिदैछन् । नेपालमा पनि शान्ति सुरक्षाको बलियो प्रत्याभूति हुने अवस्था आउनुपर्छ । अन्यथा लगानी भित्रने, लगानी थपिने अवस्था हुँदैन ।’

View : 393

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved