अन्तरदेशीय ठगी गिरोह सक्रिय रहेको आशंकाः
विराटनगर । अन्तरदेशीय ठगीको जालो बुनिरहेको गिरोहलाई झापा प्रहरीको सक्रियतामा पक्राउ गरिएको छ ।
भद्रपुर नगरपालिका–८ एयरपोर्टस्थित घोडामारा सडकखण्डमा सशस्त्र प्रहरीको जाँचका क्रममा दुई वटा भारतीय नम्बर प्लेटका सवारीसाधन शंकास्पद अवस्थामा फेला परेपछि सुरु भएको अनुसन्धानले प्रहरीलाई गिरोहसम्म पुर्याएको हो ।
चन्द्रगढीबाट काँकडभिट्टातर्फ गइरहेको डब्ल्यूबी ०६ यू ३००६ नम्बरको सुजुकी कम्पनीको बालेनो र डब्ल्यूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा कम्पनीको फर्च्यूनर गाडीमा सवार व्यक्तिहरूलाई सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वार्टर गणले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
गाडीसहित सशस्त्र प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएपछि अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा ६ जना भारतीय र एक नेपाली छन् । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार पत्रकार सम्मेलनमार्फत सो गिरोहले संगठित रूपमा ठगी धन्दा सञ्चालन गर्ने योजना बनाइरहेको जानकारी गराएको हो ।
उनीहरूबाट विभिन्न कार्यालयका सरकारी छाप, दस्तखत र प्रहरीको नक्कली परिचयपत्रसहित टिनका बाकसाभित्र नोटको आकारमा राखिएका कागजका गड्डीसमेत बरामद गरेको प्रनाउ खड्काले बताए ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल आदर्शपल्ली बस्ने ४५ वर्षीय अरिन्दम धर, सारतपल्ली बस्ने ३६ वर्षीया दीपा भौमिक, चन्द्रमोहन गुहारोड हरिनभी साउथ २४ पार्गानास बस्ने ३५ वर्षीय सुमन सरकार, पार्गानास मुसलमान पारा बस्ने ३७ वर्षीय नुर कलाम शेख, जलपाईगुडी बस्ने ५२ वर्षीय अबेद अली होसेन, उमाचरनपुर फालाकाता बस्ने २० वर्षीय फारुक अज्मी र झापाको कमल गाउँपालिका–६ बस्ने ४३ वर्षीय देवेन्द्र सापकोटा छन् ।
उनीहरूले विभिन्न ठाउँमा व्यापारमा लगानी गरेर ठूलो नाफा कमाएको तर नेपालको कानुनी अड्चनका कारण विभिन्न निकायले रकम जफत गरेको, सो रकम भारत लैजान ‘पेनाल्टी’ स्वरूप जरिवाना बुझाउनु पर्ने भएकाले केही रकम आवश्यक परेको भन्दै चिनजान तथा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई भिडियो सन्देश पठाएर ठगी गर्ने योजना बनाएको देखिएको प्रहरीले जनाएको छ ।
‘उनीहरूले नोटको आकारमा सादा कागजको बिटा (बन्डल) तयार गरी प्रत्येक गड्डीको तलमाथि सक्कली पैसा राखी त्यसको बीचमा सादा कागज भरेका रहेछन्, त्यसमाथि सरकारी कार्यालयको पत्र समेत त्यसमाथि राखेको पाइएको छ’ प्रनाउ खड्काले भने, ‘पैसा लैजान पेनाल्टी तथा कर तिर्न एक लाख लाग्छ भन्दै विभिन्न व्यक्तिहरूलाई भिडियो पठाउने गरेको खुलेको छ ।’
खड्काका अनुसार गिरोहबाट ठगी भएका व्यक्तिहरू सम्पर्कमा नआएकोले प्रहरीले तत्कालै सम्पर्कमा आउन समेत आग्रह गरिसकेको जानकारी दिए ।
अनुसन्धानका क्रममा उनीहरूबाट मेचीनगर नगरपालिका–४ आमडाँगीमा लुकाइराखिएको २१ वटा टिनको बाक्सा र त्यहाँभित्र रहेको २३७ गड्डी नोट आकारका सादा कागज बरामद गरिएको जनाइएको छ ।
‘बन्डल (गड्डी) हरू हेर्दा ठूलो रकम जस्तो देखिने गरी तयार पारिएको छ, सरकारी छाप तथा प्रहरी कर्मचारीकै नामको किर्ते परिचयपत्र पनि फेला परेको छ, नेपाल सरकारको निशान छाप प्रयोग गरिएका नक्कली दस्तावेज सामग्री पनि बरामद गरिएको छ’ उनले भने, ‘डेढ महिना अघि नै उनीहरूले ठगी प्रयोजनका लागि पैसाको फोटो तथा भिडियो बनाउन मेचीनगर–४ स्थित एक होटलमा कोठा लिएर टिनका बाक्सा र नोट आकारका सादा कागजको बन्डलको दृश्य तयार पारेको खुलेको छ ।’
प्रहरीका अनुसार उनीहरू मंगलबार किर्ते कागजातहरूलाई सक्कली ठहर्याउन नोटरी पब्लिकबाट प्रमाणित गराउने उद्देश्यले भारतबाट काँकडभिट्टा नाका हुँदै चन्द्रगढी आइपुगेका हुन् ।
उनीहरूले प्रयोग गरेका बिभिन्न कम्पनीका मोबाइल सेटसमेत प्रहरीले बरामद गरेको छ ।
गिरोह पक्राउ परेपछि उनीहरूबाट विभिन्न ‘स्क्याम’ हरू सञ्चालन भएको आशंका गर्दै प्रहरीले यस्ता गतिविधिबाट पीडित भएका व्यक्ति सम्पर्कमा आउन आग्रह गरेको प्रनाउ खड्काले बताए ।
उनले पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुर तथा सरकारी छाप, दस्तखत किर्ते सम्बन्धी अभियोगमा अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रहरीले सीमावर्ती क्षेत्रमा अन्तरदेशीय ठगी गतिविधि बढेको भन्दै यस्ता गतिविधिलाई नयाँ सुरक्षा चुनौतीका रुपमा लिंदै आएको छ । सोही अनुसार सीमा नाकामा कडाइ गर्दै आएको जनाइएको छ ।
View : 128
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved