नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा सुरु भएको नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको मधेस प्रदेशले ४६ दशमलव २ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको हो ।
विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा मधेस प्रदेशका मयान यादवले सर्वाधिक ५२ रन जोडे । त्यस्तै साहिल पटेलले ४८ रनको योगदान गरे ।
कोशी प्रदेशका विपिन कुमार महतोले ४२ रन खर्चिएर सात विकेट लिए । त्यस्तै प्रेम कामतले २ विकेट लिए । अहिले कोशी प्रदेश जबाफी ब्याटिङमा उत्रिएको छ ।
यस वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरमा समावेश गरिएको यो प्रतियोगिताको शनिबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले शनिबार उद्घाटन गरेका थिए ।
कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम बहादुर खड्कासहित कोशी प्रादेशिक क्रिकेट संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
राउन्ड रोबिन्स चरणमा हुने प्रतियोगिताको फाइनलसहित २२ वटा खेलहरू मध्ये बैजनाथपुर क्रिकेट रंगशालामा उद्घाटन र फाइनलसहित १२ वटा खेल हुनेछन् । त्यस्तै विराटनगर–६ स्थित मेरिलिबोन क्रिकेट रंगशालामा १० वटा खेल हुने कोशी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष अनुप ढुंगानाले जानकारी दिए ।
प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहने जनाइएको छ । खेल ५० ओभरको रहेको छ ।
अण्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताका विजेता प्रदेशले नगद २ लाखसहित ट्रफी उचाल्ने छ । त्यस्तै रनरअपले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
View : 100
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved