Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

अध्यक्ष माझीले आफूखुसी स्थगित गरेपछि ग्रामथानको गाउँसभा अनिश्चित

उद्‌घोष संवाददाता
४ साउन २०८२, आइतवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले एकपक्षीय रूपमा गाउँसभाको बैठक स्थगित गरेका छन् । अध्यक्ष माझीले बैठक स्थगित गरेपछि अर्को बैठक पनि अनिश्चित भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुसहित गाउँसभाका बहुमत सदस्यहरूले अध्यक्ष माझीको मनोमानी र कानुनविपरीत निर्णय गरी कार्यान्वयन गर्न खोज्ने प्रवृत्तिको विरोध गर्दै आएका छन् । तर माझी भने आफूखुसी गर्दै आएका छन्।

पछिल्लो पटक गाउँसभा बैठकमा अध्यक्ष माझीले आफ्ना विरुद्ध प्रश्न उठाउने दुई वडाध्यक्षलाई सभाबाट निष्कासन गर्ने निर्णय गरेपछि बहुमत सदस्यहरूले उक्त कार्यको विरोध जनाएका थिए ।

गाउँसभा सदस्यहरूले आफ्नो विरोध गरेपछि अध्यक्ष माझीले असार ३२ गते बोलाएको गाउँसभा नै स्थगित गरिदिएका हुन् । असार ३२ को गाउँसभा बैठक अध्यक्ष माझी आफैंले बोलाएका थिए ।

माझीको मनोमानीले गाउँसभाबाट चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट नै प्रस्तुत हुन सकेको छैन । उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माझी गाउँसभामा अल्पमतमा छन् ।

उनी अध्यक्षमा निर्वाचित भएपछि नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरूसँग सहकार्य गर्नुको साटो आफूखुसी अघि बढ्ने गर्दै आएका छन् ।

सोही कारण उपाध्यक्ष थारु लगायतले अध्यक्ष माझीको कार्यक्षमतामाथि नै प्रश्न उठाइसकेका छन् ।

“अध्यक्षज्यूसँग दम्भमात्रै देखिन्छ, आफू मात्र जनप्रतिनिधि हो भन्ने घमण्ड छ,” उपाध्यक्ष थारुले भनिन्, “कसैसँग पनि समन्वय नगरी एकलौटी अघि बढ्न खोजेका कारण गाउँपालिका नै असफल बन्ने चिन्ता छ, अध्यक्षको कार्यक्षमतामाथि जनताहरूले नै प्रश्न उठाउन थालेका छन्, वहाँले यो कुरा बुझेर अघि बढ्नुहुने अझै आशा छ ।”

अध्यक्ष माझी भने निर्वाचित भएयता नै विवादित बनेका छन्। उनले एकलौटी गरेका निर्णयहरूमा समेत अदालतले ब्रेक लगाउँदै आएको छ ।

View : 624

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved