Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

गर्मीको मारले धमाधम विद्यालय विदा, महानगरमा तीन दिन विदा

उद्‌घोष संवाददाता
२७ जेठ २०८२, मङ्गलवार

विराटनगर । अत्याधिक गर्मीका कारण कोशी प्रदेशमा विभिन्न जिल्लामा धमाधम विदा गरिएका छन् । केही विद्यालय भने विहानी सत्रमा संचालन हुने भएका छन् । 

विराटनगर महानगरपालिकाले बुधबारदेखि तीन दिन विद्यालयको पठनपाठन बन्द गराउने निर्णय गरेको छ । 

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठन पाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको भन्दै महानगरपालिकाभित्र संचालित सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्म बन्द गराउने निर्णय गरेको बताए । 

उनले यस अवधिमा तापक्रम घटेर विद्यालय सञ्चालन गर्न अनुकुल भएको खण्डमा भने विद्यालयको नियमित पठनपाठन गर्न समेत आग्रह गरेका छन् । 

अत्यधिक गर्मी बढेको र विद्यार्थीहरूको स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि बुधबार एक दिन विद्यालय विदा गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले इटहरी क्षेत्र भित्रका सबै सामुदायिक र संस्थागत विद्यालय विदा गर्ने निर्णय गरेको हो । 

सुनसरीको कोशी गाउँपालिकाले गर्मीका कारण दिउँसोको साटो विहान विद्यालय संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै इनरुवा नगरपालिकाले पनि विद्यालय विदा दिएको छ ।

केहीदिनयता कोशी प्रदेशका झापा, मोरङ र सुनसरी लगायतका तराई क्षेत्रका जिल्लामा अत्याधिक गर्मी बढेको छ । सोमबार र मंगलबार तापक्रम ४० डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार कम्तिमा पनि बिहीबारसम्म अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी हुने र हावा समेत तातो चल्ने बताए ।

View : 651

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved