विराटनगर । कोशी प्रदेशको प्रदेश सभामा शुक्रबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएलगत्तै नेपाली कांग्रेसले समर्थन गरेको छ । सरकारलाई समर्थन गरेपछि कांग्रेस आजको बैठकदेखि नै सत्तापक्षमा रहने भएको हो ।
माओवादी केन्द्रले शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर आजैदेखि विपक्षमा बस्ने भएको छ ।
प्रदेश सभाका सचिव गोपाल पराजुलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सचिवालयमा दर्ता भएको बताए । साथै कांग्रेस संसदीय दलका नेता उद्वव थापाले सरकारलाई समर्थन गरेको पत्र पनि प्रदेश सभा सचिवालयमा प्राप्त भएको बताए ।
केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरुले गत साउन ११ मै राजिनामा दिइसकेका छन् । तर माओवादीले यतिन्जेलसम्म सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
गठबन्धन फेरिए पनि सरकार नछाडेपछि त्यतिबेला माओवादीको सत्ता पदलोलुपता देखाएको भन्दै चर्को आलोचना भएको थियो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार वैशाख २७ मा हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्दा माओवादी सांसदहरुले समर्थन गरेका थिए । नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ जना सांसदको समर्थनमा मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
१३ जना सांसद रहेको माओवादीले समर्थन फिर्ता लिए लगत्तै २९ जना सांसद रहेको कांग्रेसले समर्थन जनाएको हो । एमालेसँग उपसभामुख सहित ४० सांसद रहेका छन् ।
मुख्यमन्त्री कार्कीलाई ९३ सदस्यीय प्रदेश सभाबाट बहुमत प्राप्त गर्न ४७ सांसदको समर्थन भए पुग्छ ।
असार ८ मा बैठक बसेर अनिश्चितकालीन स्थगन भएको प्रदेश सभाको बैठक आजदेखि सुरु हुँदैछ ।
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved