Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

‘म फस्ट बेन्चर्स हो’ स्वास्थ्यमन्त्री पौडेल

‘जो जोसँग चिनजान छ त्यसलाई भर्ती गर्ने काम बन्द गर्नुस्’
उद्‌घोष सम्वाददाता
१३ भदौ २०८१, बिहिवार

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आफू स्कुलको फर्स्ट बेन्चर्स भएको बताएका छन् । विराटनगरस्थित कोशी अस्पतालको अनुगमनका क्रममा बिहीबार बोल्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पताललाई फस्ट बेन्चर्सहरूले चलाउनु पर्ने बताएका हुन् ।

उनले आफू पनि स्कुल पढ्दा डाक्टर हुने मन भएपनि हुन नसकेको र आफ्ना धेरै साथीहरू डाक्टर भएको बताए । मन्त्री पौडेलले डाक्टरहरूले नमूना बनेर काम गर्नुपर्ने बताएका छन् ।

‘म स्कुल पढ्दा मलाई पनि डाक्टर हुने मन थियो, म पनि फस्ट बेन्चर्स नै हो, मसँग पढेकाहरू सबै डाक्टर भए’ उनले भने, ‘यो फस्ट बेन्चर्सहरुले चलाउने संस्था हो, यो अरुका निम्ति नमूना बन्नुपर्छ ।’

स्वास्थ्यमन्त्री पौडेलले कोशी अस्पताललाई स्वास्थ्य मन्त्रालयकै नमूना अस्पतालका रुपमा संचालन गर्न आग्रह गरे । उनले अस्पतालमा बिना प्रतिष्पर्धा आफ्ना मान्छे नियुक्ति गर्ने काम बन्द गर्न विकास समितिलाई आग्रह गरे ।

कोशी अस्पतालको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेल अस्पतालमा धेरै भद्रगोल देखेको भन्दै असन्तुष्टि पनि पोखेका छन् । उनले अस्पतालको पुरानो भवनलाई देखाएर सेवा प्रवाहमा भएको भद्रगोललाई छुट दिन नमिल्ने बताए ।

‘यो अस्पतालमा अध्यक्ष, मेसु सबैलाई भन्छु, यो जोसँग चिनजान छ त्यसलाई भर्ती गर्ने काम बन्द गर्नुस्, विज्ञापन गरेर मात्रै गर्नुस्, इन्स्टिच्युसनमा कुनैपनि नर्म्स रहेन भने यो देशमा कहिँ पनि नर्म्स रहँदैन, न्यूनतम् नर्म्सभित्र रहेर काम गर्नुस्’ मन्त्री पौडेलले भने, ‘नर्म्सभन्दा बाहिर मैले भनें भनेपनि नमान्नुस्, विकास समितिको आम्दानी पारदर्शी बनाउनुस्, के–के मा खर्च हुन्छ त्यो पारदर्शी बनाउनुस् ।’

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा दिन मात्रै सकिने र केही प्राप्त गर्न नसकिने बताए । उनले अस्पतालका चिकित्सक तथा कर्मचारीहरूलाई प्राप्त गर्नतिर नलाग्न आग्रह समेत गरे । 

‘कोशी अस्पतालमा फलानो डाक्टर पुरा समय बस्नुहुन्छ प्राइभेट प्राक्टिस गर्नुहुन्न, आम नागरिकलाई राम्रो सेवा गर्ने इमेज बनाइदिनुस्’ उनले भने, ‘यो संवेदनशिल क्षेत्रमा बसेर कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतिर लाग्नुहोस् ।’

View : 140

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved