Biratnagar, Morang, Nepal
४ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सरकारी उदासीनताको मारमा चिया क्षेत्र : मुख्य सिजनमै ठप्प, हजारौंको रोजीरोटी संकटमा

उद्‌घोष संवाददाता
४ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । सरकारी लाचारी र फितलो कूटनीतिक पहलले निम्त्याएको समस्याले तीन दिनयता चिया क्षेत्र ठप्प बनेको छ । कोशी प्रदेश नेपालमै सबैभन्दा धेरै चिया उत्पादन हुने ठाउँ हो । 

प्रदेशको झापा र इलाम चियाको हब मानिन्छन् । इलामका ७० भन्दा बढी उद्योगहरू असार १ देखि ठप्प छन् भने झापाका ३६ वटा उद्योग बिहीबारबाट बन्द हुँदैछन् । 

यस्तो अवस्थामा चियाको हरियो पत्ती टिप्ने, संकलन गर्ने कार्य ठप्प भएको छ । यसले मुख्य सिजनमै चियाको हरियो पत्ती बारीमै खेर जाने अवस्था सिर्जना भएको इलाम सूर्योदयका किसान मदन राईले जानकारी दिए । 

‘हामीले हरियो पत्ती टिपेर चिया उद्योगहरूलाई दिने हो तिनै उद्योग बन्द भएपछि हरियो पत्ती टिप्न बन्द गरेका छौं,’ राईले बुधबार उद्घोषसँग भने ‘सबैभन्दा धेरै आम्दानी हुने सिजनमै हरियो पत्ती बारीमै खेर जाने अवस्था आएको छ । यो सबैभन्दा दुःखद् अवस्था हो ।’

पछिल्लो समस्याले दशौं हजार किसान, मजदुर तथा सयौं उद्योगीहरूलाई प्रत्यक्ष प्रभाव पारेको छ । 

उनीहरूको मुख्य आर्थिक आधारका रुपमा रहेको पूर्वी नेपालको चिया क्षेत्र ठप्प बन्दा किसान र मजदूर सबैभन्दा धेरै मारमा परेका छन् । 

किसानले चियाको हरियो पत्ती उत्पादन गरेर वर्षभरिको गर्जो टार्ने र घरखर्च जुटाउने मुख्य सिजनमै कोशीका चिया उद्योगहरू पूर्ण रूपमा ठप्प भएका हुन् ।  

भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको नीतिगत अवरोध सुल्झाउन र आफ्ना नागरिकको अभिभावकत्व ग्रहण गर्न सरकारले बेलैमा कुनै तदारुकता र चासो नदेखाउँदा चिया क्षेत्रमा आश्रित परिवारहरू सडकमा पुग्ने अवस्था सिर्जना भएको छ ।

असार १ देखि उद्योग बन्द गरेका इलामका चिया उद्योगीहरूले बुधबार सूर्योदय नगरको फिक्कलमा सडकमा र्याली आयोजना गरेका छन् । 

‘चियाको मुख्य बजार भारत नै हो, त्यहाँ चिया पठाउन नपाएपछि उद्योग बन्द गरेर सडकमा आएका हौं,’ सूर्योदय टि प्रोड्युसर्स एसोशिएनका उपाध्यक्ष ज्ञानी लिम्बूले उद्घोषस“ग भने ‘सरकारले तत्कालै पहल गरेर चियाको अन्तर्राष्ट्रिय बजारको समस्या हल गर्नुपर्छ । तर, अहिलेसम्म सरकारी तहबाट कुनै पहल गरेको संकेत पाइएको छैन ।’ 

राज्यको यही मौनता र अकर्मण्यताका कारण अहिले चिया बजार ठप्प मात्र भएको छैन, ६५ हजारभन्दा बढी चिया मजदुर र हजारौं किसानको भविष्यसमेत अनिश्चित बनेको छ ।

बर्खा लाग्दै गरेको समय चिया किसानका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ । चियाबारीमा नयाँ, कमला र रहरलाग्दा मुना पलाउने र चिया व्यवसायी तथा किसानका लागि वर्षकै सबैभन्दा बढी आम्दानी हुने मुख्य याम हो अहिले । 

यतिबेला इलामका डाँडापाखा मनमोहक हरियालीले सजिएका छन् । तर, ती मनमोहक दृश्यले किसान र मजदुरको मनमा खुसी भन्दा बढी निराशा र चिन्ताको कालो बादल मडारिने अवस्था बनेको छ । 

फ्याक्ट्रीहरूले हरियो पत्ती खरिद गर्न छाडेपछि र उत्पादन पूर्ण रूपमा रोकेपछि किसानहरूले आफ्नो चियाबारीमा पत्ती टिप्न छाडेका छन्, जसका कारण बारीमै मुनाहरू छिप्पिन थालेका छन् । 

सूर्योदय नगरपालिका–७ का किसान डम्बर कटुवालका अनुसार प्रति किलो ४० देखि ६० रुपैयाँसम्ममा सजिलै बिक्री हुने गुणस्तरीय मुना अहिले बोटमै खेर जाने अवस्था आएको छ ।

‘आकाशबाट परेको पानीका कारण चियाको उत्पादन त राम्रो भएको छ,’ कटुवालले भने ‘बिक्री गर्ने उचित बजार र प्रशोधन केन्द्र नहुँदा ती बहुमूल्य मुनाहरू काम नलाग्ने गरी खेर गइरहेका छन् ।’

इलामका झन्डै ४८ सय र सूर्योदयका मात्रै २२ सयभन्दा बढी साना तथा ठूला किसानको साझा पीडा अहिले यही नै बनेको छ । 

अर्कोतर्फ, चिया बगान र उद्योगमा पसिना बगाएर दैनिक ज्यालादारीमा निर्भर रहने हजारौं चिया मजदुरहरूको अवस्था झनै कारुणिक र दयनीय बनेको छ । 

मजदुर नेता भरत राईका अनुसार उद्योगहरू एकाएक बन्द हुँदा चिया टिप्ने, बोक्ने, फ्याक्ट्रीमा काम गर्ने र प्याकिङ गर्ने श्रमिकहरूको दैनिक रोजीरोटी खोसिएको छ । उनका अनुसार कतिपय श्रमिकको घरमा साँझ–बिहान चुलोसमेत नबल्ने गम्भीर संकट सिर्जना भइसकेको छ ।

नेपाली अर्थोडक्स र सिटिसी चियाको मुख्य तथा ठूलो बजार छिमेकी मुलुक भारत नै हो । हालै भारतीय टी बोर्डले नेपाली चियालाई निरुत्साहित गर्ने उद्देश्यले लागू गरेको नयाँ, झन्झटिलो र अव्यावहारिक नियमका कारण नेपाली चिया सीमा पार गरेर कोलकाता पुगेपछि त्यहाँका गोदामहरूमा महिनौंसम्म रोकिने गरेको छ ।

गुणस्तर परीक्षण र प्रयोगशालाको प्रतिवेदन आउन झन्डै तीन हप्तादेखि एक महिनासम्म लाग्ने र त्यो रिपोर्ट नआउँदासम्म चिया बिक्री गर्न नपाइने भारतीय नीतिका कारण नेपाली उद्योगीहरूको अर्बौं रुपैयाँको लगानी त्यत्तिकै फ्रिज भएको छ ।

यसले गर्दा चियाको व्यापारिक चक्र नै पूर्ण रूपमा भत्किएको छ । 

चिया उद्योगी दिनेश अग्रवाल सरकारको यो रवैयाप्रति तीव्र आक्रोश पोख्दै भन्छन् ‘यो व्यापारिक समस्याबारे सिंहदरबार र सम्बद्ध मन्त्रालय पूर्ण रूपमा जानकार भए पनि कूटनीतिक तहमा समाधानका लागि सुरुदेखि नै कुनै चासो दिइएन ।

मुलुकको अर्थतन्त्रमा र व्यापार घाटा न्यूनीकरणमा यत्रो ठूलो योगदान दिने कृषिजन्य क्षेत्रलाई सरकारले किन प्राथमिकतामा नराखेको हो, त्यो कसैले बुझ्न सकेका छैनन् ।’

अर्का उद्योगी आदित्य पराजुलीका अनुसार हाल इलाम र झापाबाट निर्यात भएको करिब ३ लाख किलो तयारी चिया भारतका विभिन्न गोदाममा अलपत्र अवस्थामा थन्किएको छ भने नेपालभित्रकै विभिन्न फ्याक्ट्री र गोदामहरूमा पनि १५ लाख किलोभन्दा बढी तयारी चिया बिक्रीविहीन भएर थुप्रिएको छ ।

बजारमा सामान नबिकेपछि, भारतीय खरिदकर्ताबाट पैसा नआएपछि र पुँजी पूर्ण रूपमा फ्रिज भएपछि अन्ततः उद्योगीहरूले किसानबाट चिया खरिद गर्न र उद्योग चलाउन नसकेर उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बाध्यात्मक परिस्थिति सिर्जना भएको उनको भनाइ छ ।

चिया क्षेत्रमा देखिएको संकट र राज्यको लाचारीबारे मुलुकको सर्वोच्च जनप्रतिनिधि थलो प्रतिनिधिसभामा समेत लगातार आवाज उठिरहेको छ । 

इलामका संघीय सांसद निश्कल राईले संसदको बैठकमा विशेष समय लिएर बोल्दै भारतले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निर्यात प्रक्रियामा नियोजित रूपमा सिर्जना गरेको अवरोध र जटिलताबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सरकारले तत्काल प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको स्तरबाट उच्च कूटनीतिक पहल गरेर यो संवेदनशील समस्या समाधान नगरे उद्योगीहरू बैंकको ऋण र ब्याज तिर्न नसकेर सडकमा पुग्ने र देशकै गौरवको रूपमा रहेको चिया क्षेत्र सधैँका लागि कोमामा जाने चेतावनी उनले दिए ।

नेपाल सरकारले चिया उत्पादनमा मात्र ध्यान दिएको तर तेस्रो मुलुकमा नेपाली चियाको ब्रान्डिङ र बजार विस्तार गर्नका लागि कुनै ठोस नीति नल्याएका कारण पनि नेपाली चिया सधैँ एउटै देशको भर पर्नुपरेको र अहिले यो दुर्दशा भोग्नुपरेको उनको भनाइ छ । 

हाल नेपालभर कुल २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भइसकेको छ र देशभर साना–ठूला गरी करिब १२० वटा प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । 

नेपालमा उत्पादित उच्च गुणस्तरको अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत र सिटिसी चियाको करिब आधा हिस्सा भारतीय बजारमै निर्यात हुने गर्दछ । गत आर्थिक वर्षमा मात्रै नेपालले चिया निर्यात गरेर चार अर्ब ७५ करोड रूपैयाँभन्दा बढीको बहुमूल्य विदेशी मुद्रा आर्जन गरेको थियो ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved