योग दिवसमा योग खेलकुद प्रतियोगिता
विराटनगर । विराटनगरमा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय योग खेलकुद प्रतियोगितामा सुन्दर सार्की र चाँदनी परियारले योग सुन्दर र योग सुन्दरीको उपाधि जितेका छन् ।
विराटनगर बरगाछीस्थित होटल मनास्लु इनमा शनिबार आयोजित सो प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट तीन प्रतिस्पर्धीलाई उछिन्दै सुन्दर योग सुन्दर (मिस्टर योगी) घोषित भएका हुन् ।
प्रतियोगिताको महिलातर्फ सर्वोत्कृष्ट ठहरिंदै चाँदनीले योग सुन्दरी (मिस योगी) को ट्रफी उचालिन् ।
पण्डित घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका ५१ प्रतियोगी सहभागी भएका थिए ।
तीन उमेर समूहमा विभाजन गरेर आयोजना गरिएको प्रतियोगितामा ९ देखि १९ वर्षसम्मको उमेर समूहमा महिलातर्फ स्वेच्छा थापाले स्वर्ण पदक जितिन् भने अनुशा बिक र सन्ध्या बिकले रजत र काँस्य जितिन् ।
पुरुषतर्फ किरण मगर प्रथम बन्दै ‘स्वर्ण पदक जित्दा जय चौधरीले रजत तथा सूर्य राईले काँस्य पदक हात पारे ।
प्रतियोगितामा २० देखि ३५ वर्षसम्मको उमेर समूहमा महिलातर्फ चा“दनी परियारले बाजी मारिन् भने फुर्फूटी शेर्पा र पवित्रा आले मगरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । पुरुषतर्फ सुन्दर सार्कीले स्वर्ण पदक जित्दा सुदीपकुमार खतिवडा द्वितीय र प्रीतम रजक तृतीय बने ।
३५ वर्षमाथिको उमेर समूहमा भावना घिमिरेले स्वर्ण पदक जित्दा सारदा दाहाल दोस्रो र सिर्जना पौडेल तेस्रो बनिन् । पुरुषतर्फ बलराम ढुंगाना प्रथम, सुजितकुमार मण्डल दोस्रो र रवीन्द्र मेहता तेस्रो बने ।
विजयी खेलाडीलाई कोशी प्रदेशसभा सदस्यद्वय भीम पराजुली र जयप्रकाश चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, ले पुरस्कृत गरेका थिए ।
प्रतियागितामा प्रथमलाई ७ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैया“ नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग खेलकुद प्रतियोगितालाई वार्षिक तालिकामा राखेर आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
साथै, उनले शिक्षा नीतिमा प्रदेशभरिका सबै विद्यालयहरूमा योग शिक्षालाई अनिवार्य बनाउनेगरी समावेश गरिने बताए ।
अन्तर्राष्ट्रिय योग प्रशिक्षक संग्राम पुरीलगायत प्रतियोगिताको निर्णायकको भूमिकामा रहेको प्रतियोगिताको सह–आयोजक संस्थाहरूमा पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो धर्म प्रदीप ध्यान केन्द्र विराटनगर, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रहेको आयोजक संस्थाका अध्यक्ष दामोदर पोखरेलले बताए ।
कार्यक्रममा पतञ्जली योग समिति कोशीका अध्यक्ष मिस्टरप्रसाद चौधरीले योग आसन गराएका थिए भने पतञ्जली मोरङ अध्यक्ष सुरेश अग्रवाल, महिला अध्यक्ष सुची चौधरी, विराटनगर महानगर अध्यक्ष शिल्पा प्याकुरेल, महिला अध्यक्ष कुमारी तामाङलगायतले सहभागिता जनाएका थिए ।सो अवसरमा रक्तदानको कार्यक्रम पनि राखिएको थियो ।
View : 821
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved