Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

अझै पनि ‘भाग खोजेर’ घुक्र्याउँदै देउवा–कोइराला समूह

आफ्नो गुटको ‘स्पेस’ बारे प्रष्ट नभएको निहुँमा कार्यक्रममै गएनन् डा. शेखर

उद्‌घोष संवाददाता
१० वैशाख २०८३, बिहिवार

विराटनगर । विशेष महाधिवेशनलाई अवैध भन्दै अदालतसम्म पुगेको नेपाली कांग्रेस संस्थापन इतर पक्ष सर्वोच्च अदालतको आदेशपछि पार्टीमा भागबण्डा माग्दै नेतृत्वलाई घुक्र्याउने रणनीतिमा लागेको देखिएको छ । 

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापालाई स्वीकार नगर्ने भन्दै अदालत पुगेको शेरबहादुर देउवा पक्ष र निर्वाचन आयोगमा त्यसै भन्दै पुगेको शेखर कोइराला पक्ष यतिबेला भाग खोज्दै घुर्की लगाउन व्यस्त देखिएको हो ।

यसको प्रमाण बुधबार विराटनगरमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा प्रष्टतः प्रकट भएको छ । 

देउवा र कोइराला पक्षका बहुसंख्यक नेताहरू समीक्षा कार्यक्रममा उपस्थित थिए । यद्यपि दुवै पक्षका मुख्य मानिने नेताहरू थिएनन् । 

तर, देउवा र कोइराला पक्षबाट उपस्थित सबैजसो नेताहरूले बारम्बार ‘सबै पक्षलाई समेटेर लैजानुपर्ने’ माग अघि सारेका थिए । 

आफ्नो पक्षले पार्टीमा के कस्तो ‘स्पेस’ पाउने हो भन्ने अन्योल कायमै रहेको भन्दै शेखर कोइराला कार्यक्रममै गएनन् ।

केही दिनदेखि विराटनगरमै रहेका डा कोइराला बुधबार विराटनगरमै आयोजित पार्टीको कार्यक्रममा अनुपस्थित बन्दा धेरैले त्यसबारे टिप्पणी गरेका थिए । 

केन्द्रीय समितिले आयोजना गरेको निर्वाचन समीक्षा कार्यक्रममा सभापति गगन थापासहितका पदाधिकारी तथा केन्द्रीय नेताहरू उपस्थित थिए । यद्यपि आफ्नै गृहनगर विराटनगरमै भएको कार्यक्रममा शेखर गयल थिए । 

‘उहाँहरूलाई अब पार्टीमा भाग चाहिएको हो, पहिले ६०–४० को अभ्यासको लत गएको छैन,’ कार्यक्रममा सहभागी एक केन्द्रीय सदस्यले भने ‘हामीले के पाउँछौं भन्ने कुरा टुंगो नलागेरै केही नेताहरू नआउनुभएको हो । यो कुरा प्रष्ट छ ।’

कांग्रेस कोशी प्रदेशका पदाधिकारीहरूले दिएको जानकारी अनुसार डा शेखरलाई प्रदेश र केन्द्रीय समिति दुवैले कार्यक्रममा सहभागिताका लागि निम्ता गरेका थिए । 

सभापति गगन थापा आफैले फोन गरेर कार्यक्रममा आउन आग्रह गरेका थिए । 

केही दिनअघि  कोइराला पक्षका नेताहरूले राजधानीमा भेला गरेर गगनलाई सभापति स्वीकार गरेर जाने बताएका थिए । यसका वावजुद कोइराला कार्यक्रममा गएनन् ।

शेखर निकट नेताहरूले दिएको जानकारी अनुसार बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा उनलाई भेट्न पुगेका नेताहरू डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा लगायतलाई आफू कार्यक्रममा नआउने जानकारी दिएका थिए । 

‘निम्ता आएको छ, सभापति गगनजीले फोन गरेर कार्यक्रममा आउनुस् भन्नुभएको छ तर अब कसरी अघि बढ्ने, हामीलाई कसरी समेट्ने भन्ने कुरा प्रष्ट नभएसम्म मैले कार्यक्रममा आउदिन भनेको छु,’ डँ शेखरले बुधबार बिहान निवासमा नेताहरूसँग भनेका थिए । 

कोइराला निकट मानिने डा. मीनेन्द्र रिजालदेखि सरिता प्रसाईंसम्मका नेताहरू भने कार्यक्रममा उपस्थित थिए । बोल्ने क्रममा उनीहरूले ‘सबैलाई समेट्न’ भन्दै अप्रत्यक्ष रूपमा गुटगत भागवण्डाकै पैरवी गरेका थिए ।

कोइराला मात्रै होइन, पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको मुख्य चिन्ता पनि ‘सबैलाई समेट्ने’ विषयमै केन्द्रित थियो । 

अबको कांग्रेस कस्तो कांग्रेस बनाउने भन्ने विचार माग गरेको केन्द्रीय समितिको अपेक्षा विपरित नेताहरू भने आफ्नो टिमको सुरक्षालाई लिएर बढ्ता चिन्तित देखिन्थे । 

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू, जिल्ला, क्षेत्रका सभापतिहरूलाई निम्त्याइएको कार्यक्रममा देउवा पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडालगायत पनि सहभागी थिए ।

कार्यक्रममा बोल्ने क्रममा देउवा समूहका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अबको नेता ‘गगनजीहरू नै भएको’ बताउदै ‘सबैलाई समेटेर लैजान’ आग्रह गरेका थिए । 

देउवा समूहमै रहेर आफ्नो अलग समूह अझै चलाइरहेका नेता कृष्णप्रसाद सिटौला पनि कार्यक्रममा अनुपस्थित रहे । 

सिटौला निकट मानिने उम्मेदवारहरू, प्रदेश समितिका सबै पदाधिकारीहरू भने उपस्थित थिए । सिटौला पक्षका नेताहरूले पनि  बोल्ने क्रममा अब सबैलाई समेटेर अघि बढ्न सभापति थापालाई आग्रह गरेका थिए ।

विशेष महाधिवेशनलाई अस्वीकार गरेर अहिले पार्टी केन्द्रमा पर्नबाटै छुटेका नेताहरूले ‘सबैलाई समेट्न’ आग्रह गरिरहदा उनीहरूलाई भने आफ्नै उम्मेद्वारलाई सहयोग नगरेको आरोप लागेको छ । 

कृष्णप्रसाद  सिटौलाले चुनाव लड्दै आएको क्षेत्र झापा ३ बाट  यसपटक चुनाव लडेका राजेन्द्र घिमिरेले आफू चुनाव लड्दै गर्दा सिटौला एकैपटक पनि देखा नपरेको भन्दै आक्रोश पोखेका थिए । 

‘म पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको क्षेत्रमा उठेको थिए, उहा“ कुन दिन कुन मञ्चमा देखिनुभयो,’ घिमिरेले सोधे ‘हिजो राष्ट्रियसभामा हार्ने चुनाव लडाइयो । 

राष्ट्रियसभामा जित्ने अवस्था आउँदा, हिजो हारेको मलाई कसैले खोजेन । बरू कृष्ण दाइ र गोपाल बस्नेतहरू अघि बढ्नुभयो ।’ 

घिमिरे यसअघिका चुनावमा सिटौला जिताउन खटिनेमध्येका एक कार्यकर्ता थिए । आफू उठ्दा चाहिं सिटौला देखा नै नपरेको उनको गुनासो थियो ।

ओखलढुंगामा रास्वपाका उम्मेदवारसँग ५ मतको फरकले पराजित कुमार लुइटेलले आफूलाई आफ्नैले हराएको भन्दै गुनासो पोखेका थिए । 

लुइँटेलले आफ्नो हारको मुख्य कारण बाह्य नभई आफ्नै पार्टीभित्रको घेराबन्दी र अन्तरघात भएको आरोप लगाएका थिए । लुइटेलले आफ्नै नेताको असहयोग र षड्यन्त्रका कारण आफूले पराजय भोग्नुपरेको बताए ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved