विराट एक्स्पो २०२५
विराटनगर । आउँदो माघ ११ देखि विराटनगरको डिग्री क्याम्पसको मैदानमा सुरू हुने आठांै विराट एक्स्पो–२०२५ लाई रोजगारको खोजीमा खोजीमा रहेका युवा र दक्ष कामदारको खोजीमा रहेका उद्योग व्यवसायबीच जमघट हुने थलोको रूपमा विकास गर्न ‘रोजगार कोशी पेभिलियन’ स्थापना गरिने भएको छ ।
उक्त पेभिलियनमा करीव दुई हजार युवायुवतीलाई ‘करिअर काउन्सेलिङ’ गर्ने तयारी अघि बढाइएको हो । त्यसमा सहभागीहरूलाई प्रमाणपत्र दिनेदेखि मार्गवृत्तिको अवस्था देखाउने लगायतका कार्यक्रम गरिने जनाइएको छ ।
एक्स्पोले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विकास गरेको अन्तर्राष्ट्रिय पेशागत मापदण्डका आधारमा काम र कामदारको खोजी सहजता प्रदान गर्ने जनाइएको छ । ‘जब ब्रिज पोर्टल’ को व्यवस्था गरेर प्रविधिमार्फत नै जोडिन सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको उद्योग संगठनले जनाएको छ ।
उक्त पेभिलियन शैक्षिक प्रमाणपत्र र सीप भएर पनि रोजगारीका लागि भौतारिएका युवा पुस्तालाई दक्ष कामदार र कर्मचारीको खोजीमा रहेका रोजगारदाता र उद्योगी व्यवसायीसँग भेट गराएर रोजगारका अवसर सृजना गर्नमा लक्षित हुने एक्स्पोका संयोजक एवं संगठनका उपाध्यक्ष भोलेश्वर दुलालले बताए ।
उनले विराटनगरमा अहिलेसम्म नाफामूलक औद्योगिक र व्यापारिक मेला महोत्सव मात्र हुँदै आएको इतिहास बताउँदै त्यो इतिहासलाई संगठनले विगतदेखि नै चिर्दै अघि बढेको बताए । यसपटकदेखि ‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ को स्वरूपमा एक्स्पो आयोजना गरिने जनाइएको छ ।
उक्त पेभिलियनमा हस्पिटालिटी, आईटी र इलेक्ट्रोनिकका क्षेत्रमा १ हजार ८ सय जनालाई प्रत्यक्ष तालिम, प्रमाणपत्र र बृत्तिविकासको बाटो देखाइदिने जनाइएको छ ।
हस्पिटालिटी अन्तरगत वारिष्ठा र त्यस अन्तरगत कफी बनाउने तालिम, आईटीमा सीसीटीभी बनाउने तालिम र इलेक्ट्रिोनिकमा मोबाइल मर्मतको तालिमका सवै पूर्वाधारसहित प्रत्यक्ष तालिम सञ्चालन गरिने संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।
View : 20
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved