विराटनगर, १८ कात्तिक : बिनाशकारी भूकम्पले ठूलो जनधनको क्षति व्यहोरेको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लामा कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग पठाउने भएको छ ।
उक्त रकम कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने पठाइने शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं विनाबिभागीय मन्त्री शम्शेर राईले जानकारी दिए ।
कोशी सरकारले भूकम्प प्रभावित जिल्लाहरूमा तत्काल राहतका लागि एक–एक हजार थानका दरले त्रिपाल, म्याट्रेस र कम्बल पठाउने निर्णय गरेको जनाइएको छ । मन्त्री राईले शनिबार बेलुकासम्म ती सामग्री लोड गरिएको ट्रक कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत पठाउने जानकारी दिए ।
कोशी प्रदेश सरकारको शनिबार बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारमार्फत प्रभावित जिल्लामा पुग्ने गरी राहत सामग्री र आर्थिक सहयोग पठाउने निर्णय गरेको उनले बताए ।
सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत प्रदेश गोदाममा रहेका राहत सहायता सामग्रीमा थप खरिद गरी ती सामग्री पठाउने तयारी गरेको जनाइएको छ ।
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले भूकम्पबाट अत्यावश्यकीय मानवीय आवश्यकताका सामग्रीहरू समेत अभाव भएको जानकारी आएकोले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उद्दार कार्यमा सहयोग पुग्ने सामग्री पठाउने निर्णय गरेको बताए ।
‘मन्त्रिपरिषद्को बैठकबाट आवश्यक मानवीय सहयोग सामाग्री कर्णाली प्रदेश सरकारलाई पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौं’ मुख्यमन्त्री कार्कीले शनिबार जारी अपिलमा उल्लेख छ ।
भुकम्पको कारण प्रभावित जिल्लाहरूमा ठुलो मानवीय, आर्थिक तथा भौतिक क्षति भएको भन्दै त्यहाँ प्रभावकारी उद्दार, राहत, स्वास्थ्य उपचारको काममा सिघ्रताका साथ जुट्न समेत मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।
View : 140
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved