विराटनगर । निर्माण व्यवसायी संघ मोरङ विराटनगरले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संघका अध्यक्ष महेशकुमार मिश्रको नेतृत्वमा गएको निर्माण व्यवसायीहरूको टोलीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
संघले निर्माण व्यवसायीहरूबाट स्वेच्छिक रूपमा संकलन गरेको रकम बाढीपीडितको राहतका लागि प्रदान गरेको जनाएको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष मिश्रले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोर्न बाध्य भएका बाढीपीडितप्रति निर्माण व्यवसायीहरूको ऐक्यबद्धता र सहयोगस्वरूप रकम संकलन गरी उपलब्ध गराइएको बताए ।
विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले संघले आफ्नो तर्फबाट सहयोग गरेको उनको भनाइ थियो ।
उनले निर्माण व्यवसायीहरू केवल पूर्वाधार निर्माणको क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा समेत सक्रिय रहँदै आएको उल्लेख गरे ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग गर्न निजी क्षेत्र र व्यवसायी समुदायले पनि आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्नुपर्ने उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत हस्तान्तरण गरिएको सो रकम रसुवाका बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा उपयोग गरिने जनाइएको छ ।
संघले विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिन आगामी दिनमा पनि आवश्यक सहयोग र सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।
निर्माण व्यवसायी संघ मोरङले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको बताउँदै अध्यक्ष मिश्रले विपद्को समयमा पीडितको जीवन सामान्य बनाउन राज्यका निकाय, निजी क्षेत्र, संघ–संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved