विराटनगर । मोरङको कटहरीमा आयोजना गरिएको तेस्रो वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको द हाइपिकले जितेको छ ।
आयोजक कटहरी–३ वडा कार्यालयको घरेलु टोली कटहरी क्रिकेट क्लब एण्ड एकेडेमीलाई ७ विकेटले पराजित गर्दै द हाइपिकले उपाधि कब्जा गरेको हो । फाइनल प्रतिस्पर्धाका लागि पहिले ब्याटिङमा उत्रिएको कटहरी एकेडेमीले १९ ओभर ४ बलमा अल आउट हुँदै १ सय ४६ रन बनाएको थियो ।
उक्त क्लबका तर्फबाट अमित यादवले १९ बलमा ३१ र राहुल विकले २५ बलमा २८ रनको योगदान दिएका थिए । १ सय ४७ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको हाईपिकले १७ दशमलव ३ बलमा ३ विकेटको क्षतिमा विजयी लक्ष्य हासिल गरेको थियो । बिजयी रन अंकमा हाइपिकका सत्यजित राउतले २३ बलमा ३० रन र निरञ्जन लाडीले ५० बलमा ६१ रनको योगदान दिए ।
बलिङतर्फ हाइपिकका विकास लोहियाले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए । यस्तै सत्यजित राउतले ३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । बिजयी टोली द हाइपिकले २५ हजार नगद पुरस्कारसहित उपाधि र शिल्ड प्राप्त गरेको छ भने उपविजेता कटहरी क्रिकेट क्लब एण्ड एकेडेमीले नगद १५ तथा शिल्ड प्राप्त गरेको छ । फाइनल प्रतियोगितामा हाइपिकका सत्यजित राउत उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै हाइपिककै विकास लोहिया प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन । कटहरी ३ बी का खेलाडी पप्पु यादव उत्कृष्ट ब्यट्सम्यान र सोही टोलीका अक्षयकुमार उत्कृष्ट बलर घोषित भएका छन् । कटहरी बी कै इमरान शेखलाई सेमिफाइनलको उत्कृष्ट खेलाडी घोषित गरिएको छ ।
बिजेता, उपबिजेता र खेलाडीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, कटहरी–३ का वडाध्यक्ष जदुलाल कामत, कटहरीकी पूर्व उपाध्यक्ष मञ्जिता सरदार र कटहरीका नेपाली कांग्रेसका उपसभापति गोकुल भट्टराई लगायतले पुरस्कार, शिल्ड र पदक वितरण गरे ।
कटहरी–३ को वडा कार्यालयको आयोजनामा फागुन १२ गतेबाट शुरु भएको प्रतियोगितामा कटहरी–३ को दुइटा घरेलु टोलीसहित भारतका दुइटा र सुनसरी, मोरङ, झापाका गरी १६ खेल टोलीको सहभागिता थियो ।
View : 159
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved