विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरको आदर्श माध्यमिक विद्यालयले १४ स्वर्णसहित कुल २९ पदक प्राप्त गर्दै प्रथम भएको छ ।
विराटनगर–११ स्थित जनपथ माविको संयोजनमा आयोजित रनिङ शिल्ड प्रतियोगितामा आदर्श माविले १४ स्वर्णसहित ८ रजत र ७ काँस्य पदक हाँसिल गरेको हो ।
प्रतियोगितामा ५ स्वर्ण, १० रजत र ६ काँस्यसहित २१ पदक प्राप्त गर्दै एभरेष्ट बोर्डिङ स्कुल द्वितीय बनेको छ ।
त्यसैगरी ४ स्वर्ण, ६ रजत र ८ काँस्यसहित १८ पदक प्राप्त गर्दै सत्यनारायण मावि तृतीय बन्न सफल भएको जनाइएको छ । प्रतियोगिताको शनिबार औपचारिक रुपमा समापन गर्दै विजेता विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
माघ ३ गतेबाट सुरु भएको प्रतियोगितामा विराटनगरका २० सामुदायिक विद्यालयसहित ४३ विद्यालयका खेलाडीहरु विभिन्न खेलका लागि प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १ हजार ५ सय विद्यार्थीले प्रतिस्पर्धा गरेको शिक्षा शाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् ।
प्रतियोगीतामा विजेता बनेका खेलाडीहरूले अन्तरपालिकास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगीताको समापनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक एवं विराटनगर वडा नं. १ वडाध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, कार्यक्रम संयोजक एवम् जनपथ माविका प्रधानाध्यापक हरि पराजुली लगायतको उपस्थिति थियो ।
View : 148
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved