Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस

उद्‌घोष सम्वाददाता
५ मंसिर २०८०, मङ्गलवार

काठमाडौँ, ५ मङ्सिर : न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो ।

त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । पोखरेल कांग्रेस निकट हुन् भने ढकाल एमाले निकट कानुन व्यवसायी रहेका छन् ।

बैठकले उच्च अदालतमा मुख्य न्यायाधीशको नियुक्तिका लागिसमेत सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा लोहितचन्द्र शाह, उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा रमेशप्रसाद भण्डारीलाई सिफारिस गरिएको छ ।

उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा शान्तिसिंह थापालाई सिफारिस गरिएको हो । मुख्य न्यायाधीशमा सिफारिस भएका न्यायाधीशहरू उच्च अदालतमै कार्यरत रहेका थिए ।

सर्वोच्च अदालतमा जम्मा २१ जना न्यायाधीश रहन्छन् । तर हाल ७ जना न्यायाधीशहरुको पद रिक्त रहेको  थियो । आज सिफारिस भएका ६ जनाले संसदीय सुनुवाईबाट अनुमोदित हुनुपर्नेछ । त्यसपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ ।

 

View : 304

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved