Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कतै हिन्दु र्‍यालीलाई मुस्लिमको स्वागत, कतै तनाव

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

हिन्दुको धार्मिक र्‍यालीमा पानी बितरण गर्दै मुस्लिम समुदाय । तस्वीर: उद्घोष

विराटनगर । राम नवमीका दिन निकालिएको र्‍यालीको रुट बिवादले भारतीय सीमावर्ती क्षेत्र विराटनगर १५ र १७ नम्बर वडाको सीमानामा झडप भएको छ । झडप साम्य पार्न प्रहरीले सात राउण्ड हवाइ फायर र २७ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

विराटनगर–१५ मलायारोडमा रहेको रामजानकी मन्दिरमा आउन बुधबार बिभिन्न ठाउँबाट आएको मोटरसाइकल र्‍यालीलाई स्थानीय फरक धर्म मान्नेहरूले अर्को रुट जान अनुरोध गरेपछि बिवाद भएको थियो । बिवाद छुट्याउन प्रहरीले दुबैतर्फ बल प्रयोग गरेर स्थिति सामान्य बनाएको छ । प्रहरीको सुरक्षामा मन्दिरमा बिहीबार बिहानसम्मका लागि पूजापाठको व्यवस्था मिलाइएको छ ।

स्थानीय मिलन थापाका अनुसार मन्दिरतर्फ आउँदै गरेको र्‍यालीलाई मस्जिदको बाटो जानबाट रोक लगाउन अवरोध गरिएपछि बिवाद भएको थियो । मन्दिरमा जाने र्‍यालीका लागि जिल्ला प्रशासन कार्यालयबाट लिएको इजाजतमा सो रुट उल्लेख नभएको प्रहरीको भनाइ छ । ‘प्रशासनले दिएको रुट इजाजतमा नखुलाएको बाटो प्रयोग गर्न चाहेकाले घटना  भए पनि त्यसलाई सामान्य बनाइएको छ’ मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले भने ।

मोटरसाइकल र्‍यालीमा आएका र रोक्न चाहनेहरूको बीचमा प्रहरी परेकाले दुबैतर्फको ढुङ्गा प्रहारमा ७ जना प्रहरी घाइते भएको उनले बताए । स्थानीय घाइतेहरू आफै उपचारमा गएकाले कति घाइते भए भन्ने खुल्न सकेको छैन ।

विराटनगर–१७ का वडाध्यक्ष मोहम्मद समिम कमरका अनुसार धर्मको आडमा हुलहुज्जत गर्ने युवाहरूका कारण यो अवस्था आएको हो । उनले नेतृत्वको कुरा नै नमान्ने किशोरहरूका कारण झडप भएको बताए ।

‘र्‍याली गर्ने र रोक्नेको भिड थियो, स्थानीय र प्रहरीले अर्को बाटो जानू भन्दा रोकिने अवस्था थिएन’ उनले भने ‘भिड अनियन्त्रित थियो, भनेको कसैले मानेनन् तर पनि अवस्था साम्य बनाइएको छ ।’

छिमेकी १५ नम्बर वडाका अध्यक्ष प्रकाश साहका अनुसार विराटनगर र जहदा गाउँपालिकाका बिभिन्न ठाउँबाट आएको र्‍याली आईसीपी सडकमा रामको झण्डा राखेर फर्कने क्रममा सडकमा अवरोध भएपछि झडप हुँदा दुबै तर्फका मानिस घाइते भएका छन् ।

स्थानीय १० जना जति घाइतेहरूको स्थानीय क्लिनिक र अस्पतालमा उपचार भइरहेको छ । तरबार प्रहारबाट एक जनाको टाउको र शरीरमा चोट लागेको उनले बताए ।

मुस्लिम धर्मालम्बीको मोहरम पर्वमा कुनै पनि सडकमा अवरोध नभए पनि धार्मिक र्‍यालीमा भने अवरोध भएको उनको भनाइ छ । राम जानकी मन्दिरबाट गएका वर्षमा पनि राम नवमीका दिन कलश यात्रा गरिंदा मस्जिद भएको सडक प्रयोग गरिदैन थियो ।

यस वर्ष मोटरसाइकल र्‍याली भएकाले युवाहरू जुनसुकै सडकमा जान चाहेकाले अवरोध भएको स्थानीयको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मुस्लिम वस्तीमा र्‍याली जाने चाहेकाले प्रहरी र स्थानीयले रोकेको बताउँदै अवस्था सामान्य भएको र स्थानीय राजनीतिककर्मीसँग थप छलफल भइरहेको जानकारी दिए । स्थानीय राजनीतिककर्मी मोहम्मद फैयाजले भने–‘हामी सधैँ मिलेर बसेको, सधैँ मिलेर बस्न चाहन्छौं ।’

हिन्दु र्‍यालीलाई स्वागत

यसैबिच दुई धर्म मान्नेबीच बिभिन्न ठाउंँमा बिवाद भई रहेको बेला रामनवमीका दिन मोरङ कटहरीमा निकालिएको र्‍यालीमा मुस्लिम समुदायले स्वागत गरेको छ । कटहरी–४ स्थित हनुमान मन्दिरबाट निकालिएको धार्मिक र्‍यालीलाई स्थानीय मुस्लिम समुदायले स्वागत गरेर धर्मप्रतिको सम्मान देखाएका छन् ।

मन्दिरका अध्यक्ष मुकेश कार्कीको नेतृत्वमा गाउँं परिक्रमा गर्दै निस्किएको हिन्दुको समूहलाई मुस्लिम समुदायले चर्को घाम भएकाले दिउँसो पानी बितरण गर्दै स्वागत गरे । हिन्दुलाई पानी बितरण गर्न मुस्लिम समुदाय धर्म खुल्ने पहिरनमा आएका थिए ।

‘यहाँ जाति धर्म भन्दा पनि मानव धर्मलाई वढी विश्वास गरिन्छ’ अध्यक्ष कार्कीले भने– ‘यो यस पटक मात्रै हैन पहिलेदेखिनै मुस्लिम समुदायले देखाउंँदै आएको सम्मान हो ।’ कटहरी–४ मा मन्दिर र मस्जिद नजिकै रहे पनि हिन्दु धर्म मान्नेहरुले पनि मोहरम र इदमा सहभागिता जनाएर मुस्लिम समुदायलाई सम्मान गर्ने गरेको उनको भनाइ छ ।

देशका बिभिन्न ठाउंँमा धर्मको आडमा भई रहेका हिंसालाई सन्देश दिन आफूहरुले रामनवमीको र्‍यालीमा सहभागिता जनाएको स्थानीय इस्राफिल शेखको भनाइ छ ।

यस अघि उनीहरुले सार्वजनिक रुपमै हिन्दु र मुस्लिम जो कोहीलाई रगत चाहिएफनि रक्तदान गर्ने कार्यत्रम चलाएका थिए । ‘एउटै समाजमा बस्छौं, खानपिन, भाषा, बोली सबै उस्तै छ । धर्मलाई पनि उत्तिकै सम्मान गर्छौ’ शेखले भने ।

नेपाली कांग्रेस कटहरी–४ का सभापति मनोज कार्कीका अनुसार चर्को घाममा मध्यान्ह निकालिएको र्‍यालीमा पानी बितरण गर्न आएका फरक धर्मालम्बीको सम्मानलाई स्वीकार गर्दै हिन्दु धर्मालम्बीहरु खुसी भएको बताए ।

मधेस आन्दोलनताका पनि एक भएर बसेको समाज कुनै पनि अवस्थामा बिभाजित हुन नसक्ने उनको भनाइ छ । मुस्लिम समुदायका मानिस पानीका बोतल लिएर चर्को घाममा सडकमा उभिएर वितरण गरेका थिए । 

View : 87

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved