Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटचोकमा प्रदेशकै ठूलो स्केट जोन सञ्चालनमा

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा प्रदेशकै सबैभन्दा ठूलो इनडोर स्केट जोन सञ्चालनमा आएको छ ।

बालबालिका तथा युवाहरूको मनोरञ्जन, खेलकुदको विकास र पर्यटन प्रवद्र्धनलाई लक्ष्य बनाएर स्थानीय युवाहरूको संयुक्त लगानीमा स्केट जोन निर्माण गरिएको हो । 

सुन्दरहरैंचा–१० का वडाध्यक्ष राजकुमार राईले रिबन काटेर स्केट जानेको शुभारम्भ गरे । 

उनले स्केटिङ जस्तो नयाँ खेलको विकासले युवालाई सकारात्मक क्रियाकलापमा संलग्न गराउनुका साथै शारीरिक–मानसिक विकास, स्थानीय पर्यटन र नगरको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

वडा–९ का अध्यक्ष प्रकाश श्रेष्ठले स्केट जोनको दीर्घकालीन व्यवस्थापन, खेलाडीको सुरक्षा र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

स्केट जोनका सञ्चालक मेख रानाका अनुसार यो इनडोर स्केट जोन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको हो । 

भवन निर्माणदेखि व्यवस्थापनसम्म सुरक्षालाई उच्च प्राथमिकता दिइएको उनले बताए । 

यो प्रदेशकै सबैभन्दा ठूलो र आधुनिक स्केट जोन हो उनले भने, यसले युवालाई स्वस्थ मनोरञ्जन दिने मात्र होइन, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउनेछ । उनका अनुसार स्केट जोन हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । 

खेलाडीका लागि हेल्मेट, स्केटिङ जुत्ता, हात–खुट्टाका सेफ्टी गार्डलगायत सम्पूर्ण सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।

खेलाडीको सुरक्षाका लागि पूर्ण सुरक्षा सामग्री (फुल सेफ्टी गियर) अनिवार्य गरिएको छ । १२ वर्षमुनिका बालबालिका वा १.५ मिटरभन्दा कम उचाइका खेलाडीले अभिभावकसहित मात्र खेल्न पाउनेछन् । 

मादक पदार्थ सेवन गर्ने वा स्वास्थ्य समस्याग्रस्त व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । 

स्केटिङ एरियाबाहेक अन्यत्र स्केटिङ जुत्ता लगाउन पाइने छैन भने जथाभावी स्टन गर्दा जुत्ता बिग्रिएमा मर्मत खर्च आधा–आधा खेलाडी र स्केट जोनले ब्यहोर्ने व्यवस्था गरिएको छ । 

पहिलो पटक खेल्न आउनेहरूले अभ्यासका क्रममा रेलिङ समातेर मात्र खेल्नुपर्नेछ ।

रानाका अनुसार स्केटिङ पछिल्ला दिनमा युवाबीच लोकप्रिय हुँदै गएको छ । 

स्केट जोनले स्थानीय पर्यटनमा वृद्धि, व्यवसायिक अवसर सिर्जना र नगरलाई नयाँ खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको उनले बताए ।

View : 301

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved