Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

धमलामाथि हमला गर्ने ५ महिला पक्राउ

उद्‌घोष सम्वाददाता
३ साउन २०८१, बिहिवार

विराटनगर । धरानकी स्थानीय सञ्चारकर्मी सञ्जिता धमलामाथि अस्पतालमा उपचारका क्रममा आक्रमण गर्ने पाँच जना महिलालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धमलामाथि बुधवार दिउँसो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएको थियो ।

धरानका मेयर हर्क साम्पाङ समर्थित समुहमा रहेका ती महिलाहरूले धमलालाई हातपात गर्दै लछारपछार पारेका थिए । धरान प्रहरीले धमलामाथि आक्रमणमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरी म्याद सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।

सञ्चारकर्मी धमला उपचार गराउनका लागि बुधबार बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् । 

एक महिनायता धरानका मेयर साम्पाङ र सञ्चारकर्मी धमलाबीच सामाजिक सञ्जालबाट एक अर्कामा आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ । सोही कारण केहिदिन अघि मेयर साम्पाङको कार्यकक्षबाटै धमलालाई बलपूर्वक निकाल्ने प्रयास भएको थियो । 

उनीहरूबीचको विवाद बढ्दै जाँदा घटनाले दिनहुँजस्तो नयाँ नयाँ मोड लिने गरेको छ । धमलाले आफूलाई मेयर साम्पाङकै निर्देशनमा ऊनका समर्थकहरुले आक्रमण गरेकी बताएकी छन् । 

आक्रमणमा संलग्न महिलाहरूले ‘धमलालाई कुट्न आएको भन्दै’ हिँडेका थिए । उनीहरूले सञ्चारकर्मी धमलालाई प्रतिष्ठानमा एक्सरे गराउन लाग्दा भौतिक रुपमा आक्रमण गरेका थिए ।

घटनापछि धमलाले आफू बिरामी अवस्थामा उपचारको लागि पुगेको बेलामा हिंसात्मक आक्रमणको सामना गर्नु परेको बताएकी छन् । उनले मेयरका समर्थकहरूले विभिन्न समयमा धाकधम्की दिँदै आएकोले जीउधनकै सुरक्षाको समेत माग गरेकी छन् ।

यता मेयर साम्पाङले भने पक्राउ परेका महिलालाई प्रहरीले छाड्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई दवाव दिँदै आएका छन् ।

View : 275

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved