Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

फरवार्ड माइक्रोफाइनान्सको वार्षिक साधारणसभा

उद्‌घोष संवाददाता
२३ वैशाख २०८३, बुधवार

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सुनसरीको दुहवीमा आयोजित साधारणसभामा बोल्दै पूर्वमन्त्री भगवती चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आवद्ध भएका महिलाहरुको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन आएको बताइन् ।

राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यहरुलाई सुझाव दिदै चौधरीले आफूले लिएको कर्जालाई उत्पादन हुने क्षेत्रमा मात्र लगानी गर्न आग्रह गरिन् । 

उनले लघुवित्त क्षेत्रको सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सदस्य ३ वटै पक्ष इमानदार हुनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले फरवार्ड लघुवित्त संस्थाले विपन्न परिवारको आर्थिक उन्नतिमा अझ ठूलो भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे । 

निवर्तमान सञ्चालक आशुतोष शर्मा सापकोटाले आन्तरिक तथा बाह्य कारणबाट लघुवित्त क्षेत्रमा देखा परेको नकारात्मक प्रभाव वित्तीय संस्थाहरुमा चुनौती बढ्दै गएकाले त्यसलाई सामना गर्दै अघि बढ्न आग्रह गरे । 

वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले वित्तीय संस्थाको सबलताका लागि निरन्तर लागि रहने प्रतिबद्धता गरे ।

साधारणसभामा कम्पनी सचिव विनोदकुमार चौधरी,राष्ट्रिय वाणिज्य बैंकका ट्रेजरी विभागका प्रमुख कृष्ण शाह, वित्तीय संस्थाका सञ्चालक जगतजंग जीसीलगायतले मन्तव्य राखेका थिए ।

सभामा ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलावती चौधरी, निर्वतमान सञ्चालक कमलसिंह राजवंशी, राजकुमारी चौधरी, संस्थागत तथा व्यक्तिगत शेयर धनीलगायतको उपस्थिति थियो ।

सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पारित गरेको थियो । 

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय संस्थाको आर्थिक वर्ष २०८१–८२ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको थियो ।

सभाले संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकहरुको निर्वाचन प्रक्रियाबाट चयन गरेको थियो । 

निर्वाचन अधिकृत प्रेमप्रसाद पोखरेलले व्यक्तिगत संस्थापक शेयर समूहका तर्फबाट भगवती चौधरी, सर्वसाधारण शेयरधनी तर्फबाट जगत जंग जीसी, बोधराज नेपाल, एभरेष्ट बैंकको तर्फबाट विष्णुप्रसाद ज्ञवाली, ग्रामीण महिला उत्सुकता मञ्चको तर्फबाट गोविन्द चौधरीलाइ सञ्चालक सदस्यमा चयन गरेको छ ।

सभामा विशेष प्रस्तावका रूपमा वित्तीय संस्थाको हाल कायम पुँजी संरचना संस्थापक समूह र सर्वसाधारण समूह शेयर संरचना क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकामा संस्थापक शेयरधनीको नाममा कायम रहेको संस्थापक शेयरलाई कुल चुक्ता पुँजीको १० प्रतिशत विन्दुले सर्वसाधारण शेयर परिवर्तन गरी नयाँ शेयर समूह र सर्वसाधारण समूह क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको थियो । 

सभाले वित्तीय संस्थाको पुँजीवृद्धि योजना, प्रबन्धपत्रका दफा तथा नियमावली संशोधन गर्ने तथा अन्य ‘घ’ वर्गका लघुवित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

सभाका अध्यक्ष केशवराज पौडेलका अनुसार वित्तीय संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुरयाएको छ । 

त्यसैगरी हालसम्म १ लाख २३ हजार ऋणी ग्राहक सदस्यसँग २२ अर्ब २४ करोड १२ लाख ३३ हजार  कर्जा लगानी रहेको कर्जा रहेको बताईएको छ । वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट १० अर्ब ७३ करोड ६९ लाख ७६ हजार बचत संकलन गरेको छ । 

संस्थामा ६९५ कर्मचारी कार्यरत छन् भने तीमध्ये ५० प्रतिशत महिला कर्मचारी रहेको र ग्राहक सदस्यहरूलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम प्रदान गर्ने गरिएको जनाइएको छ ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved