Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

चिकित्सकमाथि आक्रमणको चिकित्सक संघद्वारा विरोध

उद्घोष सम्वाददाता
९ जेठ २०८१, बुधवार

विराटनगर । उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सक डा.ब्रोसिस बुढाथोकीमाथि भएको आक्रमणको विरोधमा त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भइरहेको बेलामा नेपाल चिकित्सक संघ कोशीले समेत घटनाको विरोध जनाएको छ ।

डा.बुढाथोकीमाथि सांघातिक हमला भएको भन्दै चिकित्सक संघले बुधबार विज्ञप्तिमार्फत विरोध जनाएको हो । संघले अस्पतालमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको अवस्थामा चिकित्सकमाथि आक्रमण भएको दाबी गरेको छ । आक्रमणमा संलग्नहरूलाई अविलम्ब कानुनी कारवाहीको दायरामा ल्याउन संघको माग छ । 

चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले बुधबार विज्ञप्तिमार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

घटनापछि चिकित्सक संघको तर्फबाट इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिंदा समेत हालसम्म घटनामा संलग्नलाई पक्राउ नगरिएको संघले आरोप लगाएको छ ।

आक्रमणमा संलग्नहरूलाई पक्राउ गरी कारवाही नभए चिकित्सकहरूले कडा कदम चाल्न बाध्य हुने संघका अध्यक्ष डा. सिलवालले चेतावनी दिए ।

कुटपिटको विरोधमा ट्रमा सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबार ओपीडी सेवा समेत बन्द गरेर आन्दोलनमा उत्रिए ।

जेठ ३ गते दिउँसो ट्रमा सेन्टर नजिकै खाजा पसलबाट खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेकै सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको थियो ।

View : 437

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved