‘सम्मान, सेवा समान अधिकार, सुरक्षित यात्राको ग्यारेन्टी’ मूल नारासहित नयाँ संघको सुरुवात
विराटनगर । नेपाली सवारी चालकहरूका हक, हित र सम्मानका लागि लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएका पेशागत चालकहरू अब एकीकृत र संगठित स्वरूपमा अघि बढ्ने भएका छन् । शनिबार विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संयुक्त स्वतन्त्र चालक संघ नेपाल (ट्रेड युनियन) को औपचारिक घोषणा गरिएको छ ।
यो ऐतिहासिक घोषणासँगै नेपाली चालक समुदायले आफ्नो हक, सुरक्षा र पहिचानको संरक्षणका लागि दृढ कदम चालेको छ । कार्यक्रममा संघका अध्यक्ष सञ्जय वान्तवा राईले भने, ‘अब हामी न त चुप लाग्नेछौं, न त सहनेछौं — हामी लड्नेछौं, संवाद गर्नेछौं र समाधान खोज्नेछौं ।”
संघ स्थापनाका प्रमुख र मूल उद्देश्यहरू लिएर हिंडेको र सो अनुसार अगाडि बढ्ने सचिव मनोज दुलालले बताए ।
सामाजिक र आर्थिक सुरक्षा सुनिश्चित
सडकमा १६–१८ घण्टा खटिने चालकहरू अझै पनि सामाजिक सुरक्षाबाट वञ्चित छन्। संघले स्वास्थ्य बीमा, पेन्सन जस्ता सुविधा स्थायी रूपमा उपलब्ध गराउने कार्ययोजना अघि सारेको छ।
शोषणविरुद्ध संघर्ष
ट्राफिक, प्रशासन र निजी क्षेत्रबाट हुने शोषण तथा दुव्र्यवहारको अन्त्यका लागि संघले स्पष्ट र सशक्त आवाज उठाउनेछ।
नीतिगत सुधारका लागि पहल
स्थानीयदेखि संघीय सरकारसम्म समन्वय गर्दै चालक वर्गका पक्षमा नीति निर्माणमा प्रत्यक्ष हस्तक्षेप गरिनेछ।
चालकलाई सम्मानित श्रमिकको रूपमा स्थापित गर्ने अभियान
चालकलाई राष्ट्र निर्माणका मेरुदण्डको रूपमा चिनाउँदै सामाजिक हैसियत र आत्मसम्मान अभिवृद्धिका लागि संघ क्रियाशील हुनेछ।
यस्तै संस्थाले प्रमुख कार्यक्रमहरू पनि लिएर हिंडेको कोशी प्रदेश संयोजक दुर्गाप्रसाद फुयालले बताए । उनका अनुसार प्रमुख कार्यक्रममा दुर्घटनामा परेका चालक तथा परिवारलाई तत्काल राहत र उपचार सहायता गर्ने , चालकका छोराछोरीलाई छात्रवृत्ति, शिक्षा र स्वास्थ्य सहयोग गर्ने रहेको छ ।
यस्तै दक्षता अभिवृद्धि र कानुनी परामर्शसहित सशक्तिकरण कार्यक्रम, सडक सुरक्षा र ट्राफिक नियमपालनमा जनचेतनामूलक अभियान आपतकालीन अवस्थामा राहत र उद्धार सञ्जाल निर्माण छ ।
किन आवश्यक छ यस्तो संघ ?
अध्यक्ष राईको स्पष्ट भनाइ छ — “विगतमा चालकहरूको आवाज उठाउने कुनै बलियो र जवाफदेही स्वतन्त्र संस्था थिएन । अहिले हामी आफै संगठित भएर, न्याय र समानताको पक्षमा लड्न तयार छौं ।”
‘संघले समान सेवा, समान अधिकार, सुरक्षित यात्राको ग्यारेन्टी” भन्ने मूल नारालाई आत्मसात गर्दै मुलुकभर क्रियाशील स्वतन्त्र चालकहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ ’ वरिष्ठ उपाध्यक्ष नरेश बुढाथोकीले बताए ।
View : 364
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved