विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानमा प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न नपाइने उल्लेख भए पनि त्यसको पालना हुन नसकेको बताएका छन् । उनले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताएका हुन् ।
हिन्दु स्वयंसेवक संघ नेपालले बिहीबार विराटनगरमा आयोजना गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षा–२०८० को उद्घाटन गर्दै कोइरालाले असल नागरिक बन्नका लागि आफ्नो धर्म संस्कृतिलाई छाड्न नहुने पनि बताए । आफ्नो धर्म संस्कृतिलाई छाड्दै गएका कारण मुलुक नै कमजोर अवस्थामा पुगेको उनको भनाइ थियो ।
कोइरालाले नेपालीहरु सहिष्णु हुने भएकोले अरु धर्मलाई पनि उत्तिकै सम्मान गर्दै आएको बताए । तर अब आफुले मान्दै आएको धर्म संस्कृतिलाई पनि अगाडि बढाउनेतर्फ सबैले सोच्न जरुरी रहेको कोइरालाले बताए । पढाइको नाममा नैतिकता र संस्कारलाई बिर्सदै गएको भन्दै ऊनले चिन्ता व्यक्त गरे ।
कार्यत्रममा न्युरो सर्जन डा वीरेन्द्र बिष्टले स्व विवेकानन्दको योगदान र उनका भनाइहरुका विषयमा चर्चा गरेका थिए । विवेकानन्दले हिन्दु संस्कृतिको बारेमा विश्वमै दिनु भएको प्रवचनका कारण उनी सर्वश्रेष्ठ शिक्षाविद्को रुपमा चिनिने गरेको धारणा राखेका थिए ।
View : 717
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved