विराटनगरमा पतञ्जलीको फड्को
विराटनगर, ३१ बैशाख । पतञ्जली योग समिति विराटनगर महानगर समितिले आफ्नो अथक प्रयास र समर्पणबाट विराटनगरमा योगको लहर ल्याएको छ।
स्थापनाको छोटो समयमै समितिले ९०० भन्दा बढी योग्य योग शिक्षकहरू उत्पादन गरी स्वास्थ्य र योग क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।
अध्यक्ष शिल्पा प्याकुरेल (इन्दिरा) को गतिशील नेतृत्वमा समितिले महानगरका हरेक वडामा योगलाई पुर्याउने लक्ष्य लिएको छ। यसै अनुरूप, हालसम्म विराटनगरका १९ वटै वडामा ३८ वटा योग साधना केन्द्र सफलतापूर्वक सञ्चालन भइरहेका छन्।
समितिको उल्लेखनीय उपलब्धिहरूमा ८२४ जना सह-योग शिक्षक र ८८ जना उप-योग शिक्षकलाई प्रदान गरिएको तालिम महत्त्वपूर्ण भएको छ । नयाँ योग शिक्षक तयार भएकोले थप नयाँ स्थानमा योग शिविर सञ्चालन भएका छन् ।
विराटनगर समितिले ५४ वटा निःशुल्क योग शिविरको आयोजना गरी हजारौं स्थानीय बासिन्दालाई योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको छ।
पतञ्जली विराटनगर योग समितिले समाजका विभिन्न वर्गलाई लक्षित गरी योग अभ्यास कार्यक्रमहरू सञ्चालन गरेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, कारागारका कैदी र विभिन्न रोगबाट पीडित बिरामीहरूले यी कार्यक्रमहरूबाट उल्लेखनीय स्वास्थ्य लाभ गरेका छन् ।
समितिका प्रवक्ता प्रह्लादप्रसाद दंगालले आगामी दिनमा विराटनगरलाई "योगमय नगर" को रूपमा स्थापित गर्ने दीर्घकालीन योजना रहेको जानकारी दिए। कोषाध्यक्ष मोहन पाण्डेले स्थानीय विद्यालय, क्याम्पस र स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी योगलाई औपचारिक शिक्षा प्रणालीमा समावेश गर्ने तयारी भइरहेको बताए ।
पतञ्जली योग समिति विराटनगरको यो उदाहरणीय कार्यले स्वस्थ र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।
View : 713
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved