Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सेकुवा होटल उद्घाटन गर्न पुगे मन्त्री उप्रेती

उद्‌घोष सम्वाददाता
१६ माघ २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले सोमबार विराटनगरमा एक सेकुवा होटल उद्घाटन गरेका छन् । इटहरीको कटुवाल होटलले विराटनगरको खार्जीमा सञ्चालनमा ल्याएको पहिलो आउटलेट  उद्घाटन गर्न मन्त्री उप्रेती झण्डा हल्लाउँदै पुगेका हुन् ।

विराटनगर–४ खार्जी चोकमा सञ्चालनमा आएको होटलको उद्घाटन गर्दै मन्त्री उप्रेतीले इटहरीपछि कोशी प्रदेशको राजधानी रहेको विराटनगरमा पनि होटलले अझ राम्रो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताए ।

आफूले पनि उक्त होटलमा १०/१२ वर्षदेखि विभिन्न परिकारहरू खाँदै आएको जानकारी दिंदै मन्त्री उप्रेतीले नेपाली स्वादको मासुको परिकार बिक्री गरेर सीमावर्ती भारतका आन्तरिक पर्यटकहरूलाई समेत आकर्षित गर्न उनले आग्रह गरेका छन् । 

होटल सञ्चालक मणिन्द्र कटुवालले इटहरीपछि पहिलो पटक विराटनगरमा शाखा सञ्चालनमा ल्याएको जानकारी दिए । करिव ३५ लाख रुपैयाँको लगानीमा विराटनगरका उपभोक्तालाई लक्षित गरी होटलको शाखा सञ्चालन गरिएको र तत्कालका लागि १० जनाले रोजगारीको अवसर प्राप्त गरेको उनले बताए । उनले आफ्नो होटलले खसीको सेकुवासहित अनेकौ ‘नन भेज आइटम’ मा ग्राहकको मन जित्न सफल भएको दाबी गरे ।

त्यसका साथै विराटनगरमा लोकल कुखुरा र हाँसको मासुका परिकार पनि उपलब्ध हुने उनले जानकारी दिए । मन्त्री नै आएर होटलको उद्घाटन गरिदिएकोमा उनी मख्ख थिए ।

यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा तत्कालीन सामाजिक विकास मन्त्री जिवन घिमिरेले विराटनगरको सातघुम्ती रोडमा रहेको एउटा सेलरोटी पसलको उद्घाटन गरेका थिए । काम नपाएर स–साना काममा पनि रिबन काट्न पुगेको भन्दै प्रदेशका मन्त्रीहरूले बेलाबेलामा आलोचना खेप्नुपरेको छ ।

View : 262

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved