विराटनगर । आगामी बिहीबार अर्थात् फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका कर्मचारीहरू निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुगेका छन् ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारीहरू ४१ वटा निर्वाचन सामग्री र मतपत्र लिएर मतदान केन्द्र पुगेका हुन् ।
कर्मचारीहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर सुरक्षाकर्मीहरूसहित मतदान केन्द्रतर्फ गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा ३०६ वटा मतदान स्थल रहेका छन् भने मतदान केन्द्रको संख्या ८८८ रहेको जनाइएको छ । सोमबार कर्मचारीहरूले मतदान सामग्री बुझेका थिए ।
जिल्लाका सवै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित मतदान अधिकृत लगायतका कर्मचारीहरू पुगेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
उनका अनुसार मोरङमा ५ हजार ३२८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
सोमबार बेलुका ५ बजेसम्म क्षेत्र नम्बर ४, ५ र ६ का सवै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन सामग्री पुर्याएका थिए ।
मंगलबार उनीहरूले मतदान स्थलमा मतदान केन्द्र निर्माण गर्नेदेखि चारकिल्ला तोक्ने, धुम्रपान मद्यपान निषेधित क्षेत्र घोषणा गर्ने, सर्वदलीय बैठक आह्वान गर्ने लगायतका काम गर्नेछन् । त्यस्तै मतदान केन्द्रमा पानी र बत्तीको व्यवस्थापन पनि गर्ने जनाइएको छ ।
सवै कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति लिएर कार्यक्षेत्रमा खटिएको जनाइएको छ ।
निर्वाचनका लागि कर्मचारीसँगै ७ हजार ८५१ जना सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचनको सुरक्षा व्यवस्थाका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा योजना अनुसार जिल्ला तहमा पनि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले मतदान केन्द्रमा सुरक्षाको व्यवस्थापन गर्ने जनाइएको छ ।
मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाताले यसपटक निर्वाचनमा मताधिकार प्रयोग गर्नेछन् । मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला सदरमुकामबाट पठाइएका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्र पुगेपछि निर्वाचन नहुने हो कि भन्ने संशयसमेत अन्त्य भएको सर्वसाधारणले बताएका छन् ।
View : 462
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved