यता न उताका बने डा. शेखर
विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले मंगलबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टटास लेखे । जहाँ उनले आफू कुनै ‘विरासतको कोखबाट नआएको’ उल्लेख मात्रै गरेका छैनन्, अन्यायका विरुद्ध जसको सामु पनि उभिने बताएका छन् ।
उनले लेखेका छन् ‘म कुनै विरासतको कोखबाट जन्मिएको होइन, जनअधिकार र जनआवाजको लागि आमाको काख त्यागेर सडकमा रगत रोपेर उम्रेको हुँ । दबाएर हिंड्ने धेरै पाइला सहन सक्छु र अन्यायको बिरुद्ध जो कोहीको सामुन्ने उभिन सक्छु ।’
कार्कीले अगाडि थपेका छन् ‘जीवन त्याग्न हिंडेकोलाई आफ्नो व्यक्तिगत नाफा घाटाको के हिसाब ? सत्यमा न हिजो न आज न भोलि, सम्झौता हुन्न ।’
२०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा दुईपटक विजेता बनेका, पार्टी केन्द्रको निर्णयविरुद्ध विद्रोह गरेर कोशीको मुख्यमन्त्री बनेका कार्कीले ‘विरासतको कोख’ भनेर कता संकेत गरेका हुन् ? यही प्रश्न गर्दा कार्कीले थप खुलाउन चाहेनन् ।
‘मैले सत्य कुरा लेखेको हुँ’, उनले यत्ति मात्रै भने ।
उनले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिन अस्वीकार गरे पनि विराटनगरका बहुसंख्यक कांग्रेसजनले सहजै लख काटेका छन्– कार्कीको प्रहार डा. शेखर कोइरालातिर लक्षित हो ।
कोशी प्रदेशमा डा. कोइरालाको दाहिने हात भनेर खोजी हुँदा पहिलो लहरमै आउने नाम हो केदार कार्की ।
विद्यार्थी राजनीतिबाट उदाएर कोशीको मुख्यमन्त्रीसम्म बन्ने अवसर पाइसकेका कार्कीले यसपटक शेखरको साथ छाडेर आफूलाई विशेष महाधिवेशनको पक्षमा उभ्याए ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका सदा आलोचक कार्कीले आफूलाई विशेष महाधिवेशनको पक्षमा उभ्याएका मात्रै होइनन्, महाधिवेशनको मञ्चमा पुगेर भाषण नै गरे ।
जबकि उनले नेता मान्ने शेखर भने विशेष महाधिवेशनको विपक्षमा थिए । त्यति मात्रै होइन, केदारले विशेष महाधिवेशनको मञ्चबाटै आफू कोइरालाको प्रतिनिधि बनेर आएकोसमेत बताएका थिए ।
उनले काठमाडौंमा त्यस्तो बताएपछि उनका नजिकका साथीसमेत रहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले कांग्रेसलाई सहमतिका साथ अघि बढाउने विषयमा विगतदेखि डा शेखरकै अभियानमा सँगै रहेका कार्की अचानक विशेष महाधिवेशनको पक्षमा देखिनुले आश्यर्चचकित भएको प्रतिक्रिया दिएका थिए ।
कार्कीले आफ्नो लोकप्रियता देखाउन र व्यक्तिगत फाइदाका लागि यस्तो कार्य गरेको चापागाईंलेको आरोप पनि थियो ।
सभापति चापागाईं एक्लो होइन, शेखरनिकट दर्जनौं नेता–कार्यकर्ताले केदारको कदमको सार्वजनिक आलोचना गरेपछि उनले फेसबुकबाट उनीहरुलाई जवाफ दिएको अनुमान गर्न गाह्रो छैन ।
तर, समर्थकहरुले केदारविरुद्ध अभिव्यक्ति दिंदैगर्दा डा. शेखरले भने आफ्ना विश्वासपात्रहरु धमाधम गुमाएका छन् ।
विशेष महाधिवेशनसम्म आइपुग्दा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसीबाहेक अरु धेरै सहयोगीहरु शेखरले गुमाएका छन् ।
१४ औं महाधिवेशन लगत्तै महामन्त्री गगन थापा गुमाएका शेखरले गुरुराज घिमिरे पनि गुमाए । त्यसपछि मधु आचार्य, देवराज चालिसे हुँदै केदार कार्कीसम्म आइपुग्दा शेखरले टिमका महत्वपूर्ण सदस्यहरु गुमाइसकेका छन् ।
यसरी एकपछि अर्का सहयात्री गुमाएर एक्लो जस्तै किन बने कोइराला ? ‘पार्टीभित्र विधि र विधानको पालन गर्ने कि त्यसलाई लचिलो बनाउँदै अघि बढ्ने भन्ने निर्णायक संघर्ष चलिरहेका बेला उनको मध्यमार्गी अडानले स्पष्ट नेतृत्वको अपेक्षा गरिरहेका कार्यकर्तालाई निराश बनायो,’ शेखरनिकट रहेका तर अहिले महाधिवेशनमा सहभागी एक नेताले भने ‘कांग्रेस रुपान्तरणको संवेदनशील घडीमा लिएको उहाँको ढुृलमुले धारले उहाँलाई अस्पष्ट भूमिकामा पुर्यायो । विचार नमिलेपछि उहाँको साथमा रहन सकिएन ।’
ती नेताका अनुसार १४औं महाधिवेशनसम्मको समयले शेखर कोइरालालाई परिवर्तनको प्रतीकका रूपमा उभ्याएको थियो । देउवासँगको प्रतिस्पर्धामा उत्रँदा उनले नयाँ पुस्ताको आशा, संगठन सुधार र वैचारिक स्पष्टताको प्रतिनिधित्व गरेका थिए ।
पराजयका बाबजुद उनी वैचारिक विजेताका रूपमा स्थापित भएका थिए । त्यसैले विशेष महाधिवेशनको एजेण्डा उठ्दा यसको स्वामित्व स्वाभाविक रूपमा उनैसँग जोडिएको थियो ।
‘यही एजेण्डा निर्णायक चरणमा पुग्दा कोइराला पछाडि हटे, उनको अनुपस्थितिले उनीसँग जोडिएका धेरै नेताहरू अलग धारमा उभिन पुगे,’ कोशी प्रदेशका उनी निकट भनिएका एक सांसद भन्छन् ‘विशेष महाधिवेशनको माग ५० प्रतिशत भन्दाबढी प्रतिनिधिको समर्थनसहित अघि बढिरहँदा पनि उनले नेतृत्व लिने साहस देखाएनन् । यसले कोइराला अझै परिपक्व राजनीतिज्ञ नभएको देखियो ।’
ती सांसदले थपे ‘यो विशेष महाधिवेशन शेखर कोइरालाका लागि केवल प्रक्रियागत बहस मात्र होइन, नेतृत्व क्षमताको ठूलो परीक्षा थियो । स्पष्ट निर्णय लिन नसक्दा उनी अहिले कांग्रेसभित्र न यता न उताको अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा उनलाई साथ दिन सकिएन ।’
View : 1217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved