Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

दमकमा एमालेको जागरण सभा

ढुंगा हान्न जानेकाले देश चलाउँछु भन्दैछन्, राजतन्त्र आउने भ्रम नपालौं : प्रधानमन्त्री

उद्‌घोष सम्वाददाता
३० चैत २०८१, शनिवार

दमक । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति बुझ्दै नबुझेकाहरूले ढुंगा हान्न जानेका भरमा देश चलाउँछु भन्दै दौडिएको टिप्पणी गरेका छन् ।

शनिबार उनकै निर्वाचन क्षेत्र झापाको दमकमा कोशी प्रदेशस्तरीय कार्यकर्ता प्रदर्शन केन्द्रीत जनजागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ड्राइभिङ नै नजानेको व्यक्तिले गाडी चलाउन खोजेझैं’ ढुंगा हानेका भरमा देश चलाउन खोज्नेको संख्या बढेको बताए ।

‘अहिले त कस्तो लहर चल्यो भने, ड्राइभिङ सिक्दै नसिकेकाले म पो गाडी राम्रो चलाउँछु यो डाइभरले जान्दै जानेन हटाउनु पर्छ भनेर भनेजस्तो, राजनीति भनेको थाहै नपाएका, ढुंगा हान्न जानेकाहरूले देश चलाउछु भनेर उधुम, चित्र बनाउन नजान्नेले मै चित्र बनाउँछु चित्रकारले जानेन भन्ने, डुंगा खियाउन माझीले सकेन भनेर उसलाई हटाएर म गर्छु भन्ने अनि डुबाइदिने तत्व सक्रिय भए’ ओलीले भने, ‘राजनीति अस्थिर भएपछि अनेक खालका मान्छे सक्रिय भए, यहिँ पनि बोलेको सुन्यौं, बैंक डुबाउनेहरू, आफुले खाएको ऋण तिर्नै पर्दैन भन्नेहरू, आफ्नो दुनो सोझ्याउनेहरू यहि मौका पारेर जनताले मिल्काएर फ्याँकेको राजतन्त्र फेरी ल्याउँछु भन्दैछन् ।’

ओलीले दुई चारजना सडक छाप मान्छेले राजा फर्काउँछु भन्दै हात हल्लाउँदै हिंडेको तमासा देखिरहेको भन्दै उनीहरूको तमासा चैत १५ गते देखिसकेको बताए । शान्तिपूर्ण सभाका नाममा आगजनी, घर तोडफोड र पसल लुटेको बताए । 

ओलीले भने ‘खुब ठुलो परिवर्तन गर्छु भन्नेहरु त रक्सीको बोतल चोर्दै हिंडेका थिए ।’

ओलीले त्यस्ता व्यक्तिहरूलाई जनताले पत्याउन नहुने भन्दै ठुला दलले मात्रै मुलुकको नेतृत्व गर्नसक्ने दृष्टान्त सुनाए । आफु प्रधानमन्त्री हुँदा पार्टीभित्र रहेका स्वार्थी र फुटवादीहरूले नै पार्टी सिध्याउने असफल प्रयास गरेको तर जनताको अभिमतले अहिले पुनः सरकारको नेतृत्व गर्ने अवस्था बनेको बताए । 

प्रधानमन्त्री ओलीले एमालेविनाको नेपालको सपना नदेख्न चेतावनी दिए । अहिले एमाले झन ठुलो शक्तिका रुपमा अघि बढिरहेको भन्दै एमालेलाई असफल हुने छुट नहुने बताए । 

ओलीले व्यवस्था विरोधीहरू सल्बलाएको टिप्पणी गर्दै त्यसको जवाफ आगामी बैशाख ११ गते काठमाडौंमा एमालेले युवाहरू उतारेर देखाइदिने बताए । 

वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा ४० बर्ष मूनिका युवाहरूको महोत्सव आयोजना गर्ने बताए । 

उक्त दिनलाई देशभरका युवालाई काठमाडौं आएर राजतन्त्र हटाउन सक्ने जनताको तागतलाई उत्सवका रुपमा मनाउने बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका आयोजनाहरूको काम अगाडि बढ्ने बताए । त्यसका लागि आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने जानकारी दिए । 

ओलीले ठूला दलहरूको सहभागितामा वर्तमान सरकार बनेका कारण देशले राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोतर्फ अग्रसर भएको दाबी गरे ।

ओलीले झापामा एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताए । 

एमालेको उद्गम जिल्ला नै झापा भएको भन्दै उनले अहिले भने एमालेको अवस्था कमजोर अवस्थामा देखिएको भन्दै नेता कार्यकर्ताहरूको ध्यानाकर्षण गराए ।

उक्त सभालाई एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले सम्बोधन गर्दै संघीय गणतन्त्रात्मक शासन व्यवस्था नै निर्विकल्प रहेको बताएका थिए । 

राजतन्त्रात्मक व्यवस्थामा भन्दा अहिले मुलुकले दर्जनौं क्षेत्रमा ठुलो परिवर्तन हाँसिल गरेका उनीहरूले बताए ।

View : 142

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved