Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

प्लाष्टिक फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

उद्‌घोष संवाददाता
४ भदौ २०८२, बुधवार

विराटनगर । प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि नीति निर्माण गर्न पहिलो पटक राष्ट्रियस्तरमा अनुसन्धान गरी तयार पारिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ । 

प्रतिवेदनले औंल्याएका विषयमा उद्योग संगठन मोरङ र अभ्नी भेन्चर्सको आयोजनामा सरोकारवालासँग छलफल गरिएको हो ।

वन तथा वातावरण मन्त्रालय र वातावरण विभागले अभ्नी भेन्चर्सको प्राविधिक सहयोगमा प्लाष्टिकजन्य उद्योगहरूबाट हुने प्रदुषण लगायतका विषयमा अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ । 

अभ्नी भेन्चर्सका निर्देशक सुशील खड्काले नेपालमा वार्षिक ३ लाख ५२ हजार १४० मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन हुने र सोमध्ये २ लाख १२ हजार १३१ मेट्रिक टन प्लास्टिक फोहोर औपचारिक तथा अनौपचारिक सेवामार्फत संकलन गरिदै आएको जानकारी दिए ।

उनले ३० हजार ६३२ मेट्रिक टन प्लास्टिक फोहोर पुनः प्रक्रिया क्षेत्रले संकलन गर्ने, १ लाख ४४ हजार ८ मेट्रिक टन प्लास्टिक फोहोर संकलनविहीन अवस्थामा रहने र २ लाख ६१ हजार ६४३ मेट्रिक टन प्लास्टिक फोहोर संकलन, ढुवानी, छानबिन र निस्तारण प्रक्रियाका क्रममा व्यवस्थापन प्रणालीबाट बाहिर चुहिने गरेको जनाइएको छ । साथै १ लाख ५६ हजार ५१९ मेट्रिक टन प्लास्टिक फोहोर निस्तारणका लागि पठाइने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

निर्देशक खड्काले प्लास्टिक फोहोरको व्यवस्थापन सुनिश्चित गर्न स्थानीय निकायलाई ठोस फोहोर कार्यसम्पादन मापन सूचकहरूको आधारमा अन्तर–सरकारी वित्तीय स्थानान्तरण कोषमार्फत प्रोत्साहन दिनुपर्ने बताए । 

त्यसैगरी प्लास्टिक प्रदूषणको समस्यालाई सम्बोधन गर्न प्लास्टिक फोहोर व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने तथा पुनःप्रयोगलाई प्रोत्साहन दिंदै निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक–निजी साझेदारी अवधारणा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । 

उक्त कार्यक्रममा प्लास्टिकको पुनःप्रयोगका लागि लगानी प्रवाह गर्न ग्रिन वण्ड जस्ता नवप्रवर्तनशील, हरित वित्तीय उपकरणहरू प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले घरायसी सामग्रीदेखि अस्पताल, उद्योग, यातायात र कृषि क्षेत्रसम्ममा प्लाष्टिकको बढ्दो प्रयोगका कारण दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको बताए । उनले नेपालमा उत्पादन हुने प्लाष्टिक फोहोरको उचित व्यवस्थापन गर्न नीति निर्माण गर्नुपर्नेमा जोड दिए । 

राठीले प्लाष्टिकको प्रयोगलाई रोक्न सम्भव नभएकाले यसको विवेकपूर्ण र पुनःप्रयोगका विकल्पहरू अपनाउन सकिने सुझाव दिए । 

संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले प्लाष्टिक उद्योगले रोजगारी र राजश्व उपलब्ध गराउनुका साथै प्लाष्टिक उद्योगबाट उत्पादन हुने वस्तुहरूले विभिन्न उद्योगका लागि प्याकेजिङ गर्ने सामग्रीहरू समेत उत्पादन गर्ने बताए । प्याकुरेलले दैनिक जीवनमा सचेतता अपनाएर प्लाष्टिकजन्य वस्तुलाई पुनः प्रयोगमा ल्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

View : 515

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved