Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

डा. मुकुलका पक्षमा उभिए रास्वपा कोशी सभापति तिम्सिना, मुकुल पनि रविप्रति नरम हुँदै

उद्‌घोष सम्वाददाता
१८ पुष २०८१, बिहिवार

विराटनगर । सभापति  कार्यवाहक, महामन्त्री कार्यवाहक, संसदीय दलको नेता अनि प्रवक्तासमेत कार्यवाहकका भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका सभापतिले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीमा  पूर्ववत जिम्मेवारीमा फर्काउन माग गरेका छन् ।

गएको भदौ ११ मा पार्टीका सबै जिम्मेवारीबाट निकालिएका पूर्व महामन्त्री ढकाल विराटनगरका बासिन्दा हुन् । अहिले उनलाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्ने प्रदेश सभापति राजेश तिम्सिना पनि विराटनगरकै बासिन्दा हुन् । 

केन्द्रीय सदस्यसमेत रहेका तिम्सिनाले अहिले पार्टी चुनौतीपूर्ण अवस्थामा आइपुगेको भन्दै रिस र सबैथरी द्वेष त्यागेर मुकुललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने बताएका हुन् । 

प्रदेश सभापति तिम्सिनाले मंगलबार पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् । ‘रास्वपाका दुई जना संस्थापक अभिभावकहरु रवि लामिछानेलाई  विभिन्न कारणले थुनामा राखिन्छ अनि मुकुलले पार्टीबाट अलग हुनुपर्ने अवस्था आइपर्छ’, तिम्सिनाले उद्घोषसँग भने ‘मैले त पहिलेदेखि रविजीलाई पार्टीको पिता र मुकुललाई माताजी भन्दै आएको छु । पार्टीका माता र पिता मिल्दा मात्रै छोराछोरीको पनि व्यवस्थापन हुन्छ भन्ने आसयले मैले केन्द्रमा आफ्नो धारणा लिखित रुपमा राखेको हुँ ।’

डा ढकाल रास्वपा महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य थिए । तर, रास्वपाले गत भदौ ११ गते ढकाललाई यी सबै पदबाट हटाउने निर्णय गरेको थियो ।

तिम्सिनाले  पठाएको पत्रमा अहिले रास्वपा सबैभन्दा ठूलो संकटको घडीमा रहेको महसुस भएको उल्लेख छ । कोशी सभापति राजेश तिम्सिनाले डा मुकुल ढकालको नाम नै पत्रमा उल्लेख गरेर पुस १६ गते कार्यवाहक सभापति अर्याललाई पत्र पठाएका हुन् । 

‘पार्टीमा डा मुकुल ढकाललाई पुरानै जिम्मेवारीसहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु’ प्रदेश सभापति तिम्सिनाले लेखेको पत्रमा भनेका छन् ‘ढकाललाई पार्टीबाट निकालेपछि रास्वपा झन् कमजोर भएको छ ।’ 

उनले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य र साधारण सदस्यबाट हटाउने निर्णय गर्दाको हस्ताक्षरसमेत फिर्ता लिएको पत्रमा लेखेका छन् । 

‘हाम्रो पार्टीको विधानमा राइट टु रिकलको प्रबन्ध छ सोही अनुसार मैले त्यसबेलाको हस्ताक्षर फिर्ता लिएको छु’, उनले भने । 

जिल्ला–जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए । त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरू गरेको थियो । 

सुरूमा उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न रास्वपाले समय दिएको थियो भने पछि साधारण सदस्यबाट पनि निकालेको थियो । 

यसले पार्टीलाई क्षति पु¥याएको तिम्सिनाको भनाइ छ । ‘मुकुलको सजायको डिग्री कति हो, त्यसमा हस्ताक्षर गरेवापत मेरो दोषको डिग्री कति हो, त्यसले बढाउने क्षतिको डिग्री कति हो मापन गरौं’, उनले भने ‘उनको  कसुर लाखको थियो होला । कारवाही करोडको भयो अहिले क्षति अर्बमा भइरहेको छ । पार्टीको हितलाई बटमलाइन मानेर मैले यस्तो पत्र लेखेको हुँ । यसबारे पार्टीले निर्णय गरोस् भन्ने मेरो माग हो ।’ 

सभापति रवि लामिछाने यतिबेला सहकारी ठगीमा छानबिनका लागि प्रहरी थुनामा छन् ।

रविप्रति नरम हुँदै मुकुल 

रास्वपा कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति आफ्नो पक्षमा उभिएपछि डा. मुकुल ढकाल पनि रवि लामिछानेप्रति नरम रुपमा पेश हुन थालेका छन् । बुधबार फेसबुकमा लामो स्टाटस लेख्दै मुकुलले कारवाहीको झोंकमा आफू प्रतिक्रियात्मक बनेको उल्लेख गरेका छन् ।

‘अलि अलि तलमाथि हुँदै सबै कुरा राम्रै जाँदै थियो । रवि दाइ र मबीच पार्टी छलफल हुँदै कुरा हुन्थ्यो, भोलिका दिनमा पार्टी ठूलो हुन्छ, फरक–फरक मान्छे आउँछन्, राजनीतिबाट जोगिएर जानुपर्छ र रवि दाइ आफैं भन्नुहुन्थ्यो, जस्तो परिस्थिति आए पनि, मुकुल, तिमी र म एक गुट है’, ढकालले लेखेका छन्, ‘परिस्थितिहरू आए । पार्टी बाहिरबाट खेले । पार्टीभित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔं भनेँ, तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नुभएको थियो । मैले बारबार सम्झाएँ–बुझाएँ, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारवाही गर्नुभयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिकरूपमा हत्या गर्ने प्रयास गर्नुभयो र म पनि त्यसैअनुसार प्रतिक्रियात्मक हुन पुगे । आखिर मान्छे हुँ, भगवान थोडी हुँ र !’ 

मुकुलले रवि र आफूबीचको सम्बन्धमा अरुले खेलेको पनि बताएका छन् ।

‘हामीबीचको सम्बन्धमा भित्र बाहिरकाले खेलेको राजनीति समयमा बुझ्न नसक्नु वा भनौं बुझाउन नसक्नु हाम्रो गल्ती पक्कै हो । सम्बन्ध त दुइतर्फी हुन्छ, गल्ती ममा मात्र थुपारियो । गल्ती त सायद दुवैको हुनपर्छ नि । अलिकति गल्ती मेरो होला, अलिकति गल्ती उहाँको होला र अलिकति नजर लाग्यो होला पापी दुनियाँको’ उनले भनेका छन् ‘मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ । मलाई कारवाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउनुपर्छ । हामीले बगाएको बुद्धि, पसिना, पैसा र समयले बनाएको पार्टी हो । साना दुःखले आर्जेको पार्टी होइन, जोगाऔं । फुटेर होइन, जुटेर ।’ मुकुलले भनेका छन् ।

View : 529

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved