विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न सरकारले लगाएको रोकको विरोध गरेका छन् ।
ओलीलाई लगाइएको स्थानहदले सरकार चुनाव गराउन इच्छुक हो कि होइन भन्ने शंका उत्पन्न भएको पनि उनले बताएका छन् ।
गृहनगर विराटनगरस्थित विमानस्थलमा बुधबार पत्रकारहरुस“ग कुरा गर्दै कोइरालाले एमाले अध्यक्ष ओलीलाई उपत्यका छाड्न नदिने विषय उठाएर सरकारको नियतमाथि शंका व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा भाग लिने भनेर निर्णय गरिसकेको छ । हामीले चुनावमा भाग लिने भनेका छौं,’ कोइरालाले भने ‘तर, शान्ति सुरक्षा त सरकारले मेन्टेन गर्न पर्यो नि ! ५ हजार कैदी अझै फरार नै छन् । लुटिएको हतियार फिर्ता भएको छैन । एउटा पार्टीको अध्यक्षलाई भ्याली नछोड्न भनिएको छ । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ भन्ने ? मलाई त सरकार नै इच्छुक छ कि छैन भन्ने डर लाग्न थालेको छ ।’
कांग्रेस महाधिवेशन निर्वाचन अगाडि नै हुने र नयाँ कार्यसमितिले चुनावको टिकट बाँड्ने बताएका कोइरालाले अझै आशंका प्रकट गर्दै सोधे ‘कांग्रेसमा नयाँ कार्यसमितिले टिकट बाँड्छ । तर, प्रश्न छ चुनाव कहिले हुन्छ ? म त चुनाव हुने कुरामा विश्वस्त हुनुपर्छ भन्छु । तर, सरकारले कस्तो चुनाव गराउन खोजेको हो ? नेताहरुलाई स्थानहद लगाइएको छ ।’
भदौ २३ र २४ को जेनजी प्रदर्शनमा सरकारले चरम दमन गरेको थियो । त्यस क्रममा देशका विभिन्न जिल्लामा गरी ७६ जनाको ज्यान गएको थियो । सोही घटनाको छानबिन गर्न गठित आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुंगलाई उपत्यका छाड्न रोक लगाएको थियो ।
सुशीला कार्की नेतृत्वको सरकारले ज्यान गुमाएकामध्ये ४५ जनालाईे सहिद घोषणा गरेको छ । त्यसबेला प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले उपत्यका छाड्न रोक लगाएको थियो ।
ओलीले बारम्बार सरकारले बनाएको आयोगलाई नटेर्ने बताउँदै आएका छन् । आयोगमा बयान दिन नजानेसमेत बताएका ओलीमाथि लगाइएको स्थानहदको विपक्षमा शेखरले आफूलाई उभ्याएका हुन् ।
आयोगले ओली र लेखकलाई आउँदो साता बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले बयानका लागि बोलाउँदा नआए प्रहरी लगाउने तयारी पनि गरेको छ । यसरी ठूलो मानवीय क्षति हुनेगरी आन्दोलनमा दमन गरेका प्रधानमन्त्रीलाई स्थान हद लगाउँदा चुनावको वातावरण नभएको बताएर कोइरालाले आफूलाई ओलीको पक्षमा उभ्याएका छन् ।
छानबिन आयोगले ओलीमाथि लगाएको स्थानहदले निर्वाचन हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको कोइरालाको भनाइ छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न नभए विघटित संसद् पुनःस्थापनाको माग अघि बढेर जाने पनि कोइरालाले बताएका छन् ।
चुनाव नहुने हो भने संसद् पुनस्थापनाको माग अघि बढेर जान्छ,’ उनको भनाइ थियो ‘अहिले पनि संविधान केही डिरेल भएकै छ । चुनाव भएन, संविधान झनै डिरेल हुन थाल्यो भने के अवस्था आउने हो देशको ?’
विमानस्थलमा कोइरालालाई पत्रकारहरुले कोइराला परिवारबाट सभापतिमा कति जना उम्मेद्वार हुन्छन् भनेर सोधेका थिए । उनले त्यसको उत्तर दिएनन् । ‘तपाईंहरु किन चिन्ता गर्नुहुन्छ ? त्यसको फाइदा के छ’ उनले भने ।
कोइराला आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा छन् । यद्यपि आफ्नै टिमका महामन्त्री गगन थापाले पनि सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
View : 196
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved