ग्रामथान उपनिर्वाचन
विराटनगर । दुई महिनाअघिमात्रै माओवादी प्रवेश गरेका पुराना कांग्रेसी कार्यकर्ता नमोनारायण माझीलाई माओवादी केन्द्रले ग्रामथान गाउँपालिकाको आसन्न उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।
गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने शर्तमै गत भदौ २९ मा माझी माओवादी प्रवेश गरेका थिए । माझीलाई माओवादीका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा सोमबार तेतरियामा अध्यक्षको उम्मेदवार बनाइएको हो ।
माझीलाई उम्मेदवार बनाएपछि माओवादीभित्र असन्तुष्टि देखिएको छ । माओवादीका स्थानीय कार्यकर्ताहरूले माझी अध्यक्ष बन्ने शर्तमा मात्रै माओवादी प्रवेश गरेको भन्दै पार्टीभित्र असन्तुष्टि व्यक्त गरेका थिए । तर मोदीको दवावका कारण पार्टीका माथिल्लो तहका नेताहरूसमेत मौन रहेको एक माओवादी कार्यकर्ताले बताए ।
‘पार्टी फेर्दाफेर्दा त्यतिकै बसेको मान्छेलाई अध्यक्षको उम्मेदवार बनाउने जबरजस्ती भएको छ, पार्टीभित्रै लडेका साथीहरूलाई पाखा लगाइएको छ’ ती माओवादी कार्यकर्ताले भने, ‘कांग्रेसले नपत्याएको मान्छेलाई मोदीमार्फत माओवादीमा घुसाएर अस्ती प्रचण्डले टिका लगाइदिएको हो, हामीले त्यति बेलैदेखि असन्तुष्टि जनाइसकेका छौं ।’
उनका अनुसार माओवादीबाट झलक भगत लगायतका स्थानीय नेताहरू अध्यक्षका लागि आकांक्षी थिए । तर मोदीले अरुले नजित्ने भन्दै पार्टीका नेताहरूमार्फत कार्यकर्तालाई दवाव दिएको ती माओवादी कार्यकर्ताले बताए ।
माझी झण्डै ३० बर्षदेखि कांग्रेसमा क्रियाशील थिए । उनी २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसबाटै तत्कालीन लखन्तरी गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।
कार्यकालपछि लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहँदा माझी लामो समयका लागि वैदेशिक रोजगारीमा गएका थिए । त्यहाँबाट फर्किएर बसेका उनी पुन: कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।
कांग्रेसमा निरन्तर सक्रिय रहेकै बेला २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षको टिकट नपाएपछि माझी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रवेश गरे । फोरमबाटै उनले टिकट पाएर वडाध्यक्ष निर्वाचित भएका थिए ।
गच्छदार कांग्रेसमै फर्किएपछि माझी पुन: २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बन्न चाहन्थे । तर कांग्रेसले टिकट नदिएपछि उनी वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बने, तर पराजित भए ।
पराजित भएपछि स्वतन्त्र रुपमा गतिविधि गर्दै आएका माझीले आफूलाई स्थानीय समाजसेवीका रुपमा चिनाउने गरेका उनी निकटहरूले जानकारी दिए ।
पछिल्लो समयमा राजनीतिक गतिविधिमा निस्कृय बनेका माझी माओवादी नेता अमनलाल मोदीसँगको सम्पर्कबाट दुई महिना अघिमात्रै माओवादी प्रवेश गरेका हुन् । उनलाई मोदीले अध्यक्षको उम्मेदवार बनाउने आश्वासन दिएकै कारण माओवादी प्रवेश गरेको स्थानीय माओवादी कार्यकर्ताहरूले बताए ।
उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै माझीले आफू अध्यक्षको उम्मेदवार बनेपछि गाउँ नै माओवादीमय बनेको र माओवादी केन्द्रको उम्मेदवारीले जितेजस्तै भएको बताए । उनले अमनलाल मोदीका कारण आफूले चुनाव जित्ने दाबी पनि गरे ।
आफूलाई चुनाव जिताउन मोदीले महाभारतको कृष्णकै जस्तै सारथीको भूमिका निर्वाह गर्ने बताए । ‘युद्ध जिताउन महत्वपूर्ण सारथी मोदी हुने छन्’ उनले भने, ‘गाउँपालिकामा धेरै बेथिति विकृति रहेका छन्, विकास निर्माणमा भइरहेको गतिरोध खोल्नका लागि मैले जित्नुपर्दछ ।’
माझीले आफ्नो चुनावी घोषणा पत्रमा पूरा गर्न सक्ने कुरामात्रै उल्लेख गर्ने बताए । आफू माओवादीमा पहिल्यै आउनुपर्नेमा ढिलाइ भएको र ढिलै आएर पनि पार्टीले जिम्मेवारी दिएको बताए ।
ग्रामथान गाउँपालिकामा यसअघि कांग्रेसका जयप्रकाश गच्छदार थारु निर्वाचित भएका थिए । २०८० माघमा ब्रेन हेम्रेज भएर कोमामा पुगेका ५६ वर्षीय थारुको गत असार ३ गते उपचारकै क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।
अध्यक्षको निधनपछि ग्रामथान गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा अन्य राजनीतिक दलहरूले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् । निर्वाचन आयोगले आगामी मंसिर १६ गते घोषणा गरेको उपनिर्वाचन घोषणा गरेको छ । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको दिन तोकिएको छ ।
View : 113
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved