Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने

कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधेयक पारित गरिने बताएका छन् ।
उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी प्रदेश सभाको अधिवेशनबाट प्रदेश आमसञ्चार विधेयक अघि बढाउने तयारी गरेको छ । 

प्रदेश सभाको अघिल्लो अघिवेशनबाटै पारित गर्न खोजिएको उक्त विधेयकका केही व्यवस्थाप्रति पत्रकारहरूले विरोध जनाएपछि विधेयक रोकिएको थियो ।

कोशी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आगामी हिउँदे अधिवेशनमा आमसञ्चारसम्बन्धी विधेयक पारित गरिने बताएका छन् । 

मंगलबार नेपाल पत्रकार महासंघ काेशी प्रदेश समितिको आयोजनामा सञ्चारकर्मीहरूसँग भएको छलफलमा मन्त्री पराजुलीले सरकारले पत्रकारहरूले उठाएका असहमतिका बिषयमा छलफल गर्न तयार रहेको बताए ।

यसअघि नेपाल पत्रकार महासंघसहितका सरोकारवाला संस्थाहरूले विधेयक संविधानको मर्म र भावना विपरीत हुनुका साथै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने अभिप्रायले आएको ठहर गरी आन्दोलनमै उत्रिएका थिए । 

अन्तरक्रियामा बोल्दै मन्त्री पराजुलीले सञ्चार क्षेत्र व्यवस्थित, सुरक्षित र मर्यादित हुनुपर्ने बताए । 

उनले पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको र संघीय शासन प्रणाली, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न समेत पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अन्तरक्रियापछि प्राप्त भएका सुझावहरूबारे मन्त्री पराजुलीलाई ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष खड्काले पत्रकारहरूले बाध्य भएर पेशा पलायन भइरहेको, स्थानीय विज्ञापन स्थानीय मिडियामै प्रकाशन प्रशारण हुन नसकेको, ठुलो संख्यामा रेडियो र पत्रपत्रिका बन्द हुँदै गएको बताए ।

उनले प्रदेशभित्रका सञ्चारमाध्यम स्थापित भएमात्रै प्रदेश सरकारको कामकारवाहीको प्रचार प्रसार हुने बताए ।

मन्त्री पराजुलीले जेनजी आन्दोलनपछि कोशी प्रदेश सभाको भवन र सभाहल क्षतिग्रस्त भएकोले सरकारले विरेन्द्र सभागृहमा आगामी अधिवेशन बोलाउने तयारी गरिरहेको जानकारी दिए । 

सरकारले उक्त अधिवेशनमा आमसञ्चार विधेयक ल्याउने र पत्रकारहरूलाई अप्ठेरो पर्ने विषयलाई संसोधन गरेर अघि बढाइने स्पष्ट पारे ।

View : 264

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved