Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीका माननीयहरुले कांग्रेस बचाइदिनुभयो : डा. शेखर

उद्‌घोष सम्वाददाता
१ मंसिर २०८०, शुक्रवार

विराटनगर, १ मंसिर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशका माननीयहरुले नेपाली कांग्रेसलाई बचाइदिएको दाबी गरेका छन् । उनले एमालेसहित कांग्रेसकै विद्रोही आठजना प्रदेश सभा सदस्यहरुप्रति संकेत गर्दै कोशी प्रदेशमा कांग्रेसलाई बचाइदिएकाले आफmूले नमन् गर्ने बताए ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको सम्वादमा नेता कोइरालाले कोशीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने शत्ति हुँदाहुँदै पनि माओवादीलाई दिन खोजिएको प्रति असन्तुष्टि पोखे । सातवटा प्रदेशहरुमध्ये कांग्रेस तीनवटा प्रदेशमा खुम्चिने अवस्थामा प्रदेश सभाका माननीयहरुले कांग्रेसलाई बचाइदिएको उनको टिप्पणी थियो ।

‘कोशीका माननीयहरुलाई सलाम गर्छु, उहाँहरुले नेपाली कांग्रेसलाई बचाइदिनु भयो, सातवटा प्रदेशमध्ये चारवटामा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो, अहिले नेतृत्वहरुले माओवादीलाई दिएको भए तीन–तीनवटा हुन्थ्यो’ नेता कोइरालाले भने, ‘त्यतिबेला हाम्रो अनुहार कस्तो हुन्थ्यो होला ? कति मलिन हुन्थ्यो होला ? त्यो हामीले बुझ्न सकेनौं, हाम्रो स्ट्रेन्थ हुँदाहुँदै पनि हामीले त्यसलाई नजरअन्दाज गर्‍यौं, म यहाँका माननीयहरुलाई नमन गर्छु ।’

नेता कोइरालाले कोशी प्रदेशमा आफू सहमतीय सरकारको पक्षमा रहेको बताए । त्यसका लागि एमालेलाई सरकार नछाड्न आफूले सम्झाउँदै आएको जानकारी दिए । तर एमालेभित्रकै अप्ठ्याराहरुले गर्दा त्यो सम्भव हुन नसकेको स्पष्ट पारे ।

‘सहमतिको सरकारमा जाउँ भनेर एमालेलाई सम्झाएको हो, सरकार नछोड्नुस् भनेर भनेको हो, अगाडि बढौं भनेर भनेको हो’ कोइरालाले भने, उहाँहरुको बीचमा पनि कठिनाइ र अप्ठ्याराहरु होलान्,  अब अहिले जसरी जाँदैछ त्यसैगरी नै जान्छ, बजेट आएर पास भएपछि सरकारले पनि पूर्णता पाउनु पर्छ, यसरी सरकार धेरै दिन राख्न पनि मिल्दैन ।’

उनले बजेट पास हुने वित्तिक्कै कोशीमा सरकार विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए । अर्को प्रसंगमा कोइरालाले राजनीतिक दलहरुकै कारण गणतन्त्रमाथि प्रश्नचिन्ह लागेको बताए । जनताले गणतन्त्रका लागि आन्दोलन गरेपनि नेता र दलहरुले त्यो कुरा बिर्सिएर भ्रष्टाचार र दण्डहिनतालाई बढाउनतिर लागेको उनको आरोप थियो ।

‘गणतन्त्रका लागि आन्दोलन गर्‍यौं, प्राप्त गर्‍यौं तर केको लागि भन्ने कुरा हामीले बिर्सियौं’ डा. कोइरालाले भने, ‘भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि दण्डहिनतालाई बढाउनलाई गणतन्त्र ल्याएको हो कि ? यी कुराबाट जनता आजित भएका छन्, निरास भएका छन् ।’ 

उनले राजनीतिक दलहरुको कारणले गणतन्त्रमा प्रश्नचिन्ह लागेको बताए । नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिका कारणसमेत मानिसहरु निरास भएको बताए ।

‘मिडियाले सरकारको विरोध गरेन भने सरकार कसरी अघि बढ्छ ? सरकारले त सुधार्दै जानुपर्‍यो नि त’ कोइरालाले भने, ‘सरकार अराजक भएर बोल्दै जाने, प्रधानमन्त्रीजीले विराटनगरमै आएर तपार्इँहरु हामीलाई भोट दिनुस्, हामी जातीय राज्य दिन्छौं भन्नुभयो, यस्तो अराजक हिसाबले बोल्न थालेपछि मान्छे निरास हुन्छ ।’

मुलुकको राजनीतिक निकासका लागि नेतृत्व लिन आफू जहिलेपनि अगाडि हुने बताए । तर त्यसका लागि समय लाग्ने पनि उनको भनाई थियो ।

कोइरालाले नियमन गर्ने बाटो बाँकी हुँदाहुँदै सरकारले टिकटक बन्द गरेको आरोप लगाए । सरकारले कुनैपनि अध्ययन अनुसन्धान नै नगरी टिकटक बन्द गर्ने पक्षमा लागेको उनको भनाई थियो ।

‘म चैं बन्द गर्नुपर्छ भन्ने पक्षको मानिस होइन, म नियमन कसरी गर्न सकिन्छ भन्ने पक्षमा छु’ उनले भने, ‘अरु देशहरुले कसरी नियमत गरेका छन् हेरौं, अमेरिकामा सामाजिक संजालहरु अफिस आवरमा चलाउन पाइदैन, हामीले पनि त्यस्तै गरे हुन्छ ।’ 

नियमन गर्ने बाटो हुँदाहुँदै तिहारको मुखमा टिकटक बन्द गर्नु सरकारको गैरजिम्मेवारी कार्य भएको उनले आरोप लगाए ।

View : 183

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved