विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा भएको ‘जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता’ मा पथरीको एभरेष्ट सेकेण्डरी स्कुल र मोरङ मेरीगोल्ड स्कुलले जित हासिल गरेका छन् ।
विराटनगरमा आयोजित सो बृहत सांस्कृतिक कार्यक्रममा जिल्लाभरका उत्कृष्ट विद्यालयहरूलाई पछि पार्दै जुनियर र सिनियर विधामा यी दुई विद्यालयले सर्वोत्कृष्ट स्थान हासिल गरेका हुन् ।
प्रतियोगिताको जुनियरतर्फ कक्षा १ देखि ८ सम्म मोरङ पथरीको एभरेष्ट सेकेण्डरी स्कुल प्रथम हुन सफल भएको छ । जुनियरतर्फको विधामा बेलबारीको आदर्श सेकेण्डरी स्कुलले द्वितीय स्थान र हरैंचा मोडल स्कुलले तृतीय स्थान हासिल गरेका छन् ।
यसैगरी, डाँगीहाटको लिटल बुद्ध स्कुल र विराटनगरको कान्तिपुर स्कुलले सान्त्वना पुरस्कार पाए ।
सिनियरतर्फ कक्षा ९ देखि १२ सम्म मोरङ मेरीगोल्ड स्कुलले प्रथम स्थान हासिल गरेको छ ।
सिनियर तर्फको प्रतिस्पर्धामा पथरीको एभरेष्ट सेकेण्डरी स्कुल द्वितीय र पथरीकै रेडस्टार स्कुल तृतीय भएका छन् ।
सिनियरतर्फ विराटनगरको मोडर्न एरा र सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल सान्त्वना घोषित भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारसहित आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाहरूमा आयोजित छनोट चरण पार गरेर आएका विद्यालयहरूको सहभागिता थियो ।
फाइनल प्रतिस्पर्धामा जुनियरतर्फ ३२ र सिनियरतर्फ २१ गरी कुल ५३ वटा निजी विद्यालयका विद्यार्थीहरूले आफ्नो मौलिक कला प्रस्तुत गरेका थिए ।
जिल्लास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरू अब प्याब्सन कोशी प्रदेशले आयोजना गर्ने ‘प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता’ मा सहभागी हुन पाउनेछन् ।
प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले प्याब्सनले शैक्षिक गुणस्तरका साथसाथै विद्यार्थीहरूको चौतर्फी विकास र सांस्कृतिक संरक्षणमा पनि उत्तिकै ध्यान दिएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सनका राष्ट्रिय सल्लाहकार टीकाराम पुरीले विजयी विद्यार्थीहरूलाई बधाई दिंदै विद्यालय स्तरबाटै संस्कृतिको जगेर्ना हुनुपर्नेमा जोड दिए ।
View : 208
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved