Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन

इलाम-२ : बाबुसँग हारेको १२ वर्षपछि छोरासँगको भिडन्तमा छन् आचार्य

उद्‌घोष संवाददाता
१३ फागुन २०८२, बुधवार

इलाम । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये झापा ५ सबैभन्दा धेरै चर्चामा छ । त्यसबाहेक चर्चा र चासोमा रहेका अन्य क्षेत्रमध्ये इलाम–२  फेरि एकपटक राष्ट्रिय राजनीतिको नजरमा परेको छ । यो क्षेत्र झन्डै तीन दशकसम्म एउटै नामसंग जोडिएको थियो—सुवासचन्द्र नेम्वाङ ।

उनको अनुपस्थितिपछि दोस्रोपल्ट हुन लागेको चुनावमा उनकै छोरा सुहाङ फेरि जोडिएका छन् ।  

विरासत, अनुभव र नयाँ पुस्ताको दाबीबीचको टकरावले इलाम २ को प्रतिस्पर्धालाई रोचक बनाएको छ ।  १२ वर्षअघि एमालेका सुवास नेम्वाङसंग पराजित भएका नेपाली कांग्रेसका भेषराज आचार्य यस पटक उनकै छोरा सुहाङ नेम्वाङसंग आमनेसामने छन् । 

एमालेले लामो समयदेखि एकछत्र जित निकाल्दै आएको इलाम–२ को चुनावी प्रतिस्पर्धामा एमालेले विरासत जोगाउला कि अन्य दलले जीत हात पार्लान ? यो प्रतीक्षाको विषय भएको छ । 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ मा  मुख्य भिडन्त नेकपा (एमाले) का सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका भेषराज आचार्यबीच केन्द्रित देखिएपनि मैदानमा कुल १४ जना उम्मेदवार छन् । यद्यपि राजनीतिक प्रभाव, संगठनात्मक क्षमता र विगतको मतपरिणामलाई हेर्दा प्रतिस्पर्धाको धुरी यी दुई उम्मेदवार वरिपरि घुमिरहेको छ ।

२०५१ सालदेखि इलाम–२ मा नेम्वाङ परिवारको प्रभाव स्पष्ट देखिदै आएको थियो ।

सुवासचन्द्र नेम्वाङले निरन्तर जित निकाल्दै एमालेको बलियो आधार निर्माण गरेका थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ३० हजार २० मत ल्याएर विजय हासिल गरेका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार ९०६ मत पाएर ११४ मतले पराजय व्यहोरेका थिए ।

२०८० भदौ २४ गते नेम्वाङको निधनपछि २०८१ वैशाख १५ गते उपनिर्वाचन भयो । नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ पहिलो पटक प्रतिनिधिसभा सदस्य बने । 

उनले २७ हजार ७७२ मत प्राप्त गर्दै कांग्रेसका डम्बरबहादुर खड्कालाई ५,८३० मतान्तरले पराजित गरेका थिए । खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

उपनिर्वाचनको नतिजा केवल एमालेको सांगठनिक क्षमताको परिणाम मात्र नभई त्यतिबेलाको गठबन्धन समीकरण र मत विभाजनसंग पनि जोडेर हेरिएको थियो । माओवादी केन्द्रले उम्मेदवार नउठाई सुहाङलाई समर्थन गरेको  थियो ।

उपनिर्वाचनबाट संसद् छिरेका सुहाङका लागि यस पटकको चुनाव थप अर्थपूर्ण बनेको छ । 

‘जेनजी आन्दोलन’ पछि प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा हुदा उनले पूरा कार्यकाल पूरा गर्न नपाएको प्रसंग उल्लेख गर्दै यस पटक आफूले अधुरो जिम्मेवारीलाई निरन्तरता दिन चाहेको बताउदै आएका छन् ।

नेपाली कांग्रेसका भेषराज आचार्य लामो समयदेखि इलामको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय छन् । 

विद्यार्थी राजनीति हुँदै जिल्ला विकास समितिसम्मको अनुभव बोकेका उनलाई कांग्रेसले आधारभूत तहमा काम गरेका उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ ।

२०७० र २०७४ को निर्वाचनमा सुवासचन्द्र नेम्वाङसंग प्रतिस्पर्धा गर्दा झिनो मतान्तरले पराजित भएका आचार्य यस पटक परिणाम उल्ट्याउने लक्ष्यमा छन् । 

विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता दिँदै उनले मतदाताले दरिलो आवाजको अपेक्षा गरेको दाबी गर्छन् ।

यो क्षेत्रमा अन्य दलले पनि चुनावी माहोल तताइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुलबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओमबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका सुदीप राई, राप्रपाका गणेश दुलाल लगायतका उम्मेदवार मैदानमा छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङदेन (लिम्बू), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्वाहाम्फे, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे तथा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम पनि प्रतिस्पर्धामा छन् । 

रास्वपाका ३२ वर्षीय गोकुल राई यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

यसअघि माओवादी केन्द्रले उपनिर्वाचनमा सुहाङलाई समर्थन गरेको थियो । 

अहिले भने माओवादीसहितका बाम घटक मिलेर बनेको नेकपाले आफनै उम्मेदवार उठाएको छ, जसले मत विभाजनको नयाँ समीकरण बनाएको छ । इलाम–२ मा १ लाख १९ हजार ४८९ मतदाता छन् ।
विशेषगरी युवापुस्ताले रोजगारी, शिक्षा र अवसर सिर्जनालाई प्राथमिकता दिएका छन् । 

२०७९ को निर्वाचनमा एमाले र कांग्रेसबीच मतान्तर अत्यन्त न्यून थियो । उपनिर्वाचनमा भने सुहाङले पाच हजारभन्दा बढी मतान्तरले जित निकाले । तर त्यतिबेलाको गठबन्धन अवस्था अहिले फेरिएको छ ।

माओवादीलगायत अन्य दलले आफ्नै उम्मेदवार उठाएका कारण मत विभाजनको ढाचा परिवर्तन भएको छ ।

समानुपातिक मतको अघिल्लो परिणामले एमाले अगाडि देखिए पनि कांग्रेस नजिकै थियो । 

यसपटक साना दल र स्वतन्त्र उम्मेदवारले काट्ने मत अन्तिम नतिजामा निर्णायक बन्न सक्ने देखिन्छ ।

View : 125

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved