विराटनगर : संघीय व्यवस्थाको कार्यन्वयनसँगै पार्टीको संसोधित विधान अनुसार नेपाली कांग्रेस मोरङको पहिलो जिल्ला सम्मेलन बुधबार हुँदैछ । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित जेसीज भवनमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गर्ने तयारी भएको जनाइएको छ । १४ औं महाधिवेशनअघि कांग्रेस मोरङको वडादेखि महासमिति सदस्यहरूसम्म चयन भएको थियो ।
महाधिवेशनपछि पहिलो पटक मोरङको जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनमा मोरङका १७ वटै स्थानीय तहबाट ३ हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनले गत स्थानीय तह र संसदीय निर्वाचनको समीक्षा गर्ने जनाइएको छ । त्यसैगरी माओवादीसँगको गठबन्धनको औचित्य, कोशी प्रदेश सरकार र महासमिति बैठकमा मोरङको एजेण्डाका विषयमा समेत धारणा तय गर्ने जनाइएको छ ।
सम्मेलनमा विधान संशोधन मुख्य एजेण्डाकाका रुपमा प्रस्तुत गरिने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बताए । त्यस्तै प्रशिक्षण, अन्तर जिल्ला भ्रमण, सांस्कृतिक अभियानलगायतका प्रस्तावमाथि बन्दसत्रमा छलफल हुने सभापति लिम्बूले जानकारी दिए ।
सम्मेलन सफल बनाउन सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको छ । सम्मेलनलाई भव्य बनाउन मञ्च व्यवस्थापन, स्वयमसेवक परिचाजन, अतिथि सत्कार, प्रचारप्रसारलगायतका उपसमिति गठन गरिएको सचिव ललित श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा राजनैतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । मोरङ कांग्रेसमा ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेका छन् ।
View : 239
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved