Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

तीन बर्षदेखि नभएको साधारण सभाको तयारीमा मानगढ खानेपानी आयोजना

आयोजनाले अहिलेकै अवस्थामा आयोजना क्षेत्रभित्र थप एक हजार उपभोक्ताका लागि पानी वितरण गर्ने क्षमता रहेको अध्यक्ष भट्टराईले दाबी गरे ।
उद्‌घोष संवाददाता
२३ कार्तिक २०८२, आइतवार

विराटनगर । ६ हजार बढी उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको मानगढ खानेपानी आयोजनाले तीन बर्षदेखि हुन नसकेको बार्षिक साधारण सभा गर्न तयारी सुरु गरेको छ । 

साधारण सभाका लागि क्षेत्रगत मंसिर ६ गते एकैदिन सातवटा क्षेत्रबाट प्रतिनिधि चयन गरिने जनाइएको छ ।

शनिबार आयोजनाको कार्यालयमा बसेको विस्तारित बैठकले २०७९ सालदेखि हुन नसकेको साधारण सभा सम्पन्न गर्न अघिल्लो बैठकले गरेको निर्वाचन समिति गठन गर्ने निर्णयलाई अनुमोदन गरेको अध्यक्ष लालमणि भट्टराईले जानकारी दिए । 

खानेपानी आयोजनाले अहिले आन्तरिक संरचनागत सुधार र सुशासन कायम गर्दै अघि बढेको उनले बताए ।

आयोजना अन्तरगत हाल ६ हजार २३१ खानेपानी उपभोक्ता रहेका छन् । 

साधारण सभाका लागि उनीहरू मध्येबाट कूल २०५ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । सातवटा क्षेत्रगत केन्द्रबाट भने १५० जना प्रतिनिधि चयन हुने जनाइएको छ ।

मंसिर ६ गते बिहान ११ बजदेखि अपरान्ह ३ बजेसम्म सातैवटा क्षेत्रगत केन्द्रमा उपभोक्ताले प्रतिनिधि चयन गर्ने कार्यतालिका रहेको अध्यक्ष भट्टराईले बताए । त्यसका लागि कार्यसमितिका पदाधिकारी र सदस्यहरूको संयोजकत्वमा प्रतिनिधि छनौट तथा निर्वाचन समिति गठन गरिएको जनाइएको छ ।

जस अन्तरगत क्षेत्र १ (क) बाट २७, ४ (ख) बाट २०, ४(ग) बाट ३५, ४(घ) बाट १४, ५(ङ) बाट २१, ३(च) बुढीगंगाबाट २९ र ३(च) विराटनगर–१९ बाट चार जना प्रतिनिधि निर्वाचित हुनेछन् । प्रतिनिधि छनौट भएको ३५ दिनपछि आयोजनाको साधारण सभा गर्नुपर्ने व्यवस्था रहेको जनाइएको छ ।

‘अहिले हामी झण्डै चार बर्षदेखि हुन नसकेको खानेपानी आयोजनाको साधारण सभा गर्ने तयारीमा छौं, साधारणबाट उपभोक्ताहरूकै इच्छा अनुसारका प्रतिनिधि छनौट गरिसकेर नियमअनुसार साधारण सभा गर्दैछौं’ अध्यक्ष भट्टराईले भने, ‘आयोजनाभित्र रहेका ओभरहेड ट्यांकीमा पानी पठाउने कम्प्रेसर मर्मत सम्भार गरिसकेका छौं, पानीको प्रेसर नपुगेका क्षेत्रमा पाइपलाइन सुधारको काम सुरु गरेका छौं, १२ बर्षदेखि सफा नगरिएको रिजभ्र्वायर ट्यांकी सफाई गरेका छौं ।’

थप एक हजार उपभोक्तालाई पुग्छ पानी

मानगढ खानेपानी आयोजना अन्तरगत उपभोक्ताहरूले अहिले तीनवटा ओभरहेड ट्यांकीबाट वितरण भइरहेको पानी पिउँदै आएका छन् । 

२०८२ जेठ १२ गते भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि आयोजना अन्तरगतका विभिन्न प्रकारको प्राविधिक र संरचनागत सुधारको काम अघि बढेको हो । 

आयोजनाले अहिलेकै अवस्थामा आयोजना क्षेत्रभित्र थप एक हजार उपभोक्ताका लागि पानी वितरण गर्ने क्षमता रहेको अध्यक्ष भट्टराईले दाबी गरे ।

‘हामीसँग नयाँ धारा जडानका लागि पर्याप्त पानी रहेको छ, आयोजना क्षेत्रभित्र नयाँ ग्राहक विस्तार गर्न कुनैपनि समस्या छैन’ अध्यक्ष भट्टराईले भने, ‘आयोजनाबाट विभिन्न कारणले भइरहेको चुहावट नियन्त्रण गरिरहेका छौं, पानी पर्याप्त भएका कारण उपभोक्ता क्षेत्र (१) र (४) मा पाइप विस्तारको तयारी गरिरहेका छौं, यही आर्थिक बर्षमा पाइप लाइन विस्तारको कामलाई अघि बढाउँछौं ।’

View : 369

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved