Biratnagar, Morang, Nepal
२८ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तालिम

उद्‌घोष संवाददाता
२८ असार २०८३, आइतवार

Advertisement

विराटनगर । महिला उद्यमीहरूमा वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल वित्तीय सेवाप्रति पहुँच विस्तार तथा आर्थिक सशक्तिकरण प्रवर्द्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र ईसेवा लिमिटेडले विराटनगरमा आयोजना गरेको महिला उद्यमीहरूका लागि ‘वित्तीय साक्षरता तालिम’ सम्पन्न गरेको छ ।

तालिममा विराटनगर महानगरपालिका सहित बुढीगंगा, ग्रामथान र कटहरी गाउँपालिकाका विभिन्न संघ–संस्था र समितिहरूमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आवद्ध महिला उद्यमीहरुको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रममा ईसेवाका सीईओ ट्रान्सफर्मेसन कार्यालयका प्रमुख सुमन खरेलले वित्तीय समावेशीकरणलाई सुदृढ बनाउन निजी क्षेत्र र सरोकारवाला निकायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वित्तीय साक्षरतामार्फत उद्यमशीलताको विकास र आर्थिक सशक्तिकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे गर्नु भएको थियो । 

साथै, उनले डिजिटल युगमा महिला उद्यमीहरूका लागि वित्तीय ज्ञान र डिजिटल वित्तीय सेवाको प्रभावकारी उपयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै ईसेवामार्फत उपलब्ध डिजिटल सेवाहरूले व्यवसाय सञ्चालनलाई थप सहज, सुरक्षित तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले वित्तीय साक्षरता जस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालनका लागि मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिसँग सहकार्य गरेकोमा ईसेवा लिमिटेडप्रति आभार प्रकट गर्दै डिजिटल अर्थतन्त्रको विस्तारसँगै उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता अत्यावश्यक बन्दै गएको उल्लेख गरे ।

कार्यक्रममा ईसेवा लिमिटेडका प्रदेश इन्चार्ज झलक सुब्बाले वित्तीय साक्षरताको महत्व, डिजिटल वित्तीय सेवाको सुरक्षित तथा प्रभावकारी प्रयोग, बचत तथा लगानी संस्कृतिको विकास लगायतका विषयमा प्रकाश पारेका थिए भने ईसेवा लिमिटेडका सोसल इम्प्याक्ट म्यानेजर उदितचन्द्र अर्यालले सो तालिममा सहजीकरण गरेका थिए ।

विशेषगरी महिला उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, डिजिटल भुक्तानी प्रणाली तथा सुरक्षित डिजिटल कारोबार सम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले सञ्चालित उक्त तालिममा सहभागीहरूलाई बैंक तथा वित्तीय संस्थाका सेवा, विभिन्न वित्तीय उत्पादन, डिजिटल वालेट तथा रेमिट्यान्स सेवा, सामाजिक सुरक्षाकोष, बीमा सेवा, डिजिटल कारोबारमा हुन सक्ने ठगी तथा साइबर जोखिमबाट बच्ने उपाय, साना तथा मझौला उद्यमका लागि सम्भावित लगानीका क्षेत्रका विषयहरूमा व्यावहारिक तथा उपयोगी जानकारीहरु प्रदान गरिएको थियो ।

तालिम समापनका क्रममा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रुति शर्माले तालिमले महिला उद्यमीहरूको वित्तीय क्षमता विकास, डिजिटल वित्तीय सेवाको प्रभावकारी उपयोग तथा उद्यमशीलताको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

View : 15

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved