विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले क्याम्पस परिसरमा अनाधिकृत व्यक्तिहरूको प्रवेश बढ्दै गएको भन्दै पोशाक र परिचयपत्र अनिवार्य गरेको छ ।
अनाधिकृत व्यक्तिहरूको प्रवेशले क्याम्पसको शैक्षिक वातावरण र पठनपाठन प्रभावित भएको क्याम्पसले जनाएको छ । सोही कारण पोशाक र परिचयपत्र सम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेको क्याम्पस प्रमुख डा.रामावतार शरणले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
''यस क्याम्पसमा बिगत केही समय देखि अनाधिकृत व्यक्तिहरुको प्रबेश भई क्याम्पसको शैक्षिक बातावरण तथा पठनपाठनमा प्रतिकुल असर परिरहेकोले अवान्छित व्यक्तिहरुलाई क्याम्पस प्रबेशमा रोक लगाउने उद्देश्यका साथ क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले अनिवार्य रुपमा क्याम्पसले प्रदान गरेको आफनो परिचय पत्र साथमा राख्न हुन अनुरोध गर्दछु । साथै क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले निर्धारण गरेको क्याम्पसको पोशाक लगाउनुका साथै परिचयपत्र समेत अनिवार्य रुपले साथमा राखि क्याम्पसमा प्रवेश गर्नहुन सूचित गरिन्छ । उक्त अनुसारको पालना नगरेमा क्याम्पस हाता भित्र प्रबेश गर्न नपाईने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ' सूचनामा भनिएको छ ।
क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू र विद्यार्थीहरूले क्याम्पसले उपलब्ध गराएको परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने जनाइएको छ ।
त्यस्तै, विद्यार्थीहरूले तोकिएको क्याम्पस पोशाक लगाएर मात्र क्याम्पस प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ ।
सूचनामा उक्त व्यवस्था पालना नगर्ने शिक्षक, कर्मचारी वा विद्यार्थीलाई क्याम्पस हाताभित्र प्रवेश गर्न नदिइने स्पष्ट उल्लेख गरिएको छ । यो निर्णयले क्याम्पसको सुरक्षा, अनुशासन र शैक्षिक वातावरणलाई सुदृढ बनाउने क्याम्पस प्रमुख डा. शरणले बताए ।
View : 252
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved