विराटनगर । प्रहरी हुँ भनेर लुटपाट गर्ने विराटनगरका तीनै जना पक्राउ परेका छन् । घटना लगत्तै दुई जना पक्राउ परेकोमा घटनाका योजनाकार पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
बैंकमा जम्मा गर्न लाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ एक युवालाई नक्कली प्रहरी भई बन्धक बनाई तीन जनाले गत ११ गते लुटपाट गरेका थिए ।
घटनाको तीन दिनपछि दुई जना र एक सातापछि योजनाकार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा विराटनगर–११ का कुशल पाण्डे, विराटनगर–८ का समीर हुसेन र विराटनगर–६ का आशिफ अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार पाण्डे भने मुख्य योजनाकार हुन् । विराटनगर–१५ निवासी २० वर्षीय विक्रमकुमार साह तेली गत असार ११ गते दिउँसो लुटिएका थिए ।
बैंकमा रकम जम्मा गर्न सिटी सफारी चढेर जाँदै गर्दा रानीस्थित राइस मिल नजिकै स्कुटरमा आएका तीन जनाले रोकेर आफूहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी भन्दै परिचय दिएर लुटपाट गरेको बताइएको छ ।
तीनजनाको समूहले पीडितलाई जबरजस्ती स्कुटरमा चढाई विराटनगर–१४, जतुवास्थित एकान्त स्थानमा पुर्याई डरत्रास देखाई साथमा रहेको नगद रकम लुटपाट गरेर फरार भएका थिए ।
पीडितको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । असार १५ गते घटनामा प्रयोग गरिएको को १४ प ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको हो ।
अनुसन्धानलाई थप अघि बढाउँदै प्रहरीले बुधबार मुख्य योजनाकार मानिएका कुशल पाण्डेलाई पनि पक्राउ गरेको छ ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार पाण्डेको साथबाट लुटिएको रकममध्ये १ लाख ५० हजार नगद तथा घटनाका बेला लगाइएको कालो ट्रयाकसुट र ट्राउजर बरामद गरिएको छ ।
उनका अनुसार पाण्डे यसअघि पनि ज्यान मार्ने उद्योग र अभद्र व्यवहार जस्ता गम्भीर आपराधिक घटनामा संलग्न रहिसकेका छन् ।
इप्रका रानीमा मञ्जु तामाङ जाहेरवालाको ज्यान मार्ने उद्योग, जिप्रका मोरङमा स्माइल साफी जाहेरवालाको ज्यान मार्ने उद्योग र प्रवेज आलम जाहेरवालाको अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाइएको छ ।
कम उमेरका युवाले यतिका रकम बैंकमा जम्मा गर्न लैजाँदै गर्दा उनको पिछा गरेर लुटपाट गर्ने तिनै जना पक्राउ परे पनि योजना बनाएर उनीहरूलाई परिचालन गर्ने अरु नै हुन सक्ने अनुमान गरिएको छ ।
२० वर्षीय युवाले अरुकै रकम लिएर बैंकमा जम्मा गर्न लैजाँदै थिए । घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको एसपी चिमरियाले बताए ।
View : 396
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved