विराटनगर । १ नं प्रदेशको नाम कोशी प्रदेश नामकरण गरेको १३ महिना बितिसक्दा पनि कतिपय स्थानीय तहले पुरानै नाम प्रयोगमा ल्याइरहेको पाइएको छ । प्रदेशसभाबाट २०७९ फागुन १७ मा दुई तिहाई बढी मतले १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गरिएको थियो ।
विराटनगर महानगरपालिकाभित्र ब्यवसाय दर्ताका लागि जाने नयाँ ब्यवसायीले पुरानै नाम प्रदेश १ लेखिएको फारम पाउने गरेका छन् ।
ब्यवसाय दर्ताका लागि वडा कार्यालयहरुले दिने फारममा १ नम्बर प्रदेश लेखिएको छ । पालिकाहरुले प्रदेशको नयाँ नामलाई तत्काल स्विकार गरेर कार्यान्वयन गरेका छैनन् ।
वडाका राजस्व प्रशासन शाखाले दिने ब्यवसायिक इजाजतको निवेदन फारममा विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मोरङ, १ नम्बर प्रदेश नेपाल लेखिएको छ ।
पुरानै नाम भएको फारममा ब्यवसायीले विवरण भर्ने गरेका छन् र, वडा अध्यक्षहरुले त्यसैमा सही गर्ने गरेका छन् । बुधबार विराटनगर–४ मा ब्यवसाय दर्ताका लागि पुगेका केही सेवाग्राहीको हातमा यही फारम भेटिएको थियो ।
वडा अध्यक्ष जितन थापाले महानगरपालिकाबाट फारम छापिएर आउने भएकाले यसबारे महानगरलाई नै जानकारी हुने बताए । महानगर स्रोतका अनुसार कोशी प्रदेश लेखिएका फारम छापिएको भएपनि लैजाने र दिने कर्मचारीले पुरानै फारम प्रयोग गरिरहेका छन् । महानगरका सूचना अधिकारी अनिता कोइरालाले पुराना फारमहरु कहाँ कहाँ प्रयोगमा आइरहेका छन् भन्ने पत्ता लगाएर सच्याइने बताइन् ।
मोरङको कटहरी गाउँपालिकाको मुख्य भवनमा लेखिएको १ नम्बर प्रदेश यही चैतमा मात्रै सच्याएर कोशी लेखिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले पुरानो नाम लेखिएको ठाउँ ढिलो गरी नोटीसमा आएको र लगत्तै सच्याइएको बताए । कतिपय पहाडी जिल्लाका स्थानीय तहले पहिचानको आन्दोलनका कारण पनि नाम सच्याउन सकेका छैनन् ।
पहिचानका नाममा भएका आन्दोलनको प्रभाव नभएका पालिकाहरुमा पनि बोर्ड, कागजातहरु सच्याई सकिएको छैन ।
कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारी भने प्रदेश सरकारको कमजोरीका कारण कोशी नाम कार्यान्वयनमा कमजोरी देखिएको बताउँछन् । दुई तिहाई बहुमतले गरेको निर्णयलाई प्रदेश सरकारले कार्यान्वयन गराउन सक्नुपर्ने उनको सुझाव छ ।
View : 237
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved