विराटनगर । नेपाल चिकित्सक संघको देशव्यापी आन्दोलनका कारण विराटनगरस्थित कोशी अस्पतालको बहिरङ (ओपीडी) सेवा ठप्प हुँदा दैनिक उपचारका लागि आउने करिब दुई हजार बिरामी प्रत्यक्ष प्रभावित भएका छन् । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रममार्फत नियमित औषधि लिने र दीर्घरोगी बिरामी सबैभन्दा बढी मारमा परेका छन् ।
दैनिक करिब १ हजार ५ सयदेखि २ हजार बिरामीले सेवा लिने कोशी अस्पतालमा सोमबार बिहानैदेखि टिकट काउन्टरमा ‘ओपीडी सेवा बन्द’ को सूचना टाँसिएपछि उपचारका लागि आएका बिरामी निराश हुँदै फर्किएका थिए । टाढाबाट आएका बिरामीको यात्रा खर्चसमेत खेर गएको गुनासो गरेका छन् ।
झोरहाटबाट उपचारका लागि कोशी अस्पताल पुगेकी ४४ बर्षीया बिरामी गीता चौधरी २ बर्षदेखि नियमित उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गर्दै आएकी बताउँछिन् ।
बीमाद्वारा औषधि लिंदै आएकी उनले भनिन्, ‘उपचार हुन्छ भनेर बिहानै आएका थियौं । तर ओपीडी बन्द रहेछ, रित्तै फर्किनुप¥यो । बीमाबाट खाने औषधि सकिसकेको छ, अब के गर्ने भन्ने चिन्ता छ ।’
गीताजस्तै नियमित औषधि र जाँचका लागि आएका सयौं बिरामी निरास भएर घर फर्किन बाध्य भएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले चिकित्सकमाथिको आक्रमण निन्दनीय भए पनि बिरामीलाई पर्ने असरप्रति अस्पताल संवेदनशील रहेको बताए ।
डा. झाले भने, ‘सेवा बन्द हुनु बिरामीका लागि दुःखद हो । ओपीडी बन्द भए पनि आकस्मिक सेवा निरन्तर सञ्चालनमा रहेको बताए । बिरामीलाई उपचारबाट वञ्चित नगर्ने हाम्रो प्रयास छ । आवश्यक परेका बिरामीलाई इमर्जेन्सीमार्फत सेवा दिइरहेका छौं,’ उनले भने ।
अस्पतालले कुनै पनि बिरामीलाई उपचारबाट वञ्चित नगर्ने बताउँदै बिरामीहरुलाई अस्पतालको सेवाप्रति विश्वस्त हुन समेत आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।
चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको जनाउँदै मन्त्रालयले उपचार सेवालाई निरन्तर सञ्चालन गर्न आग्रह गरेको थियो ।
मन्त्रालयले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिंदै स्वास्थ्यकर्मीले पनि सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा गर्न पाउनुपर्ने उल्लेख गरेको छ ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थामा शान्तिपूर्ण र सुरक्षित वातावरण कायम राख्दै नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
तर मन्त्रालयको निर्देशन कार्यान्वयन हुन सकेन ।
नेपाल चिकित्सक संघको आह्वानअनुसार कोशी अस्पतालसहित देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेक ओपीडी सेवा बन्द हुँदा उपचारका लागि आएका हजारौं बिरामी प्रभावित बने ।
नेपाल चिकित्सक संघ, कोशी शाखाका महासचिव डा. बालकृष्ण साहले चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि भएको व्यवहारको विरोधस्वरूप देशव्यापी रूपमा ओपीडी सेवा बन्द गरिएको बताए ।
उनका अनुसार ‘नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट र घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकले नेपाल चिकित्सक संघका प्रतिनिधिप्रति गरेको भनिएको अभद्र व्यवहारले चिकित्सक समुदायलाई थप असन्तुष्ट बनाएको छ ।
सीसीटीभी फुटेजमा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरू स्पष्ट देखिएका छन् । उनीहरूलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ । चिकित्सकको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम यथावत् रहनेछन्,’ उनले भने ।
डा. साहले चिकित्सकहरूको आन्दोलन बिरामीलाई दुःख दिनका लागि नभएको स्पष्ट पार्दै सुरक्षित कार्य वातावरणको मागका लागि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
‘बिरामीको सेवा गर्नु चिकित्सकको पहिलो दायित्व हो । तर असुरक्षित वातावरणमा सेवा दिन सकिंदैन । त्यसैले सुरक्षाको सुनिश्चितताका लागि आन्दोलन गर्नुपरेको हो,’ उनले भने ।
उनका अनुसार आन्दोलनका क्रममा नियमित ओपीडी सेवा मात्र बन्द गरिएको हो । आकस्मिक (इमर्जेन्सी), भर्ना भएका बिरामी (इन–पेसियन्ट), डायलासिस, आईसीयू लगायतका अत्यावश्यक स्वास्थ्य सेवा भने निरन्तर सञ्चालनमा छन् ।
उनले सरकारी र निजी दुवै स्वास्थ्य संस्थाले नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयअनुसार आन्दोलनमा ऐक्यबद्धता जनाएको जानकारी दिए । केही अस्पतालले बिरामीको असुविधालाई ध्यानमा राख्दै आकस्मिक विभागमार्फत आवश्यक सेवा उपलब्ध गराइरहेको उनले बताए ।
शुक्रबार र शनिबारको बिदापछि आइतबार पनि ओपीडी सेवा बन्द हुँदा विशेषगरी स्वास्थ्य बीमामार्फत नियमित औषधि लिने, दीर्घरोगी तथा टाढाबाट आएका बिरामीहरू बढी प्रभावित भएको स्वीकार गर्दै उनले आन्दोलन कहिलेसम्म जारी रहने भन्ने विषय नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयमा निर्भर रहने बताए ।
‘केन्द्रीय समितिले गर्ने निर्णयअनुसार नै आगामी आन्दोलनका कार्यक्रम तय हुनेछन्,’ डा. साहले भने ।
नेपाल चिकित्सक संघ, कोशी शाखाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको संगठित आक्रमण, अस्पतालभित्र भएको तोडफोड र उपचारमा संलग्न चिकित्सकमाथि भएको दुव्र्यवहारको विरोधमा केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण रूपमा समर्थन गर्दै आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने केन्द्रीय निर्णयलाई कोशी प्रदेशभर पूर्ण रूपमा कार्यान्वयन गर्न चिकित्सक, स्वास्थ्यकर्मी, निजी अस्पताल तथा क्लिनिकलाई अनुरोध गरेको थियो ।
सोमबार विज्ञप्ति जारी गर्दै संघंले सरकारी स्वास्थ्य संस्थाको सेवा बन्द गरेर निजी स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन नगर्नसमेत आग्रह गरिएको थियो । यदि कसैले केन्द्रीय समितिको निर्णयविपरीत सेवा सञ्चालन गरेको पाइए सम्बन्धित चिकित्सक स्वयं जिम्मेवार हुने चेतावनी पनि दिइएको छ ।
संघले विज्ञप्तिमार्फत चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने स्पष्ट गर्दै आम नागरिकसग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved